गुरुङ विशेष

गुरुङ भाषामा बसाइसराइको प्रभाव

गोरखाली टोलद्वारा आयोजित पहिलो चरणको भाषा कक्षा समापन

चितवन । गुरूङ जातिको लागि चितवन जिल्लाको बसाइ त्यत्ति पुरानो होइन। तर, पछिल्लो समय चितवनमा गुरूङ जातिको उपस्थिति हेर्ने हो भने करिब ५० हजारको हाराहारीमा पुगिसकेको छ। बसाइसराइसँगै पुरानो ठाउँ छाडेपछि पुरानो भाषा पनि हराउने क्रम बढिरहेको छ। त्यसकारण गुरूङ समुदायको कार्यक्रमहरुमा भाषा संरक्षणको विषय निकै महत्त्वका साथ उठ्न थालेको छ।

तसर्थ भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको गोरखाली तमू समाज भरतपुरले गुरूङ भाषा जगाउने प्रयास थालेको छ। समाजभित्र रहेका गुरूङहरुलाई भाषाप्रति रूचि दिलाउनको लागि औपचारिक कक्षा सञ्चालन गरेको छ। वैशाख ७ गतेबाट सुरु गरेको भाषा कक्षा दुई हप्तापछि शनिबार समापन गरिएको छ।

‘बसाइसराइ र आधुनिक समयको प्रभावका कारण हामीले हाम्रै भाषा बिर्सँदै गएका छौँ,’ समाजका अध्यक्ष नेत्रबहादुर गुरूङले कक्षाको समापन गर्दै भने, ‘त्यसकारण हामीले हाम्रै समाजबाट भाषा संरक्षणको अभियान थालेका छौँ।’

अहिलेको पुस्ताले पनि भाषा नजाने पछिका पुस्ताले भाषा संरक्षण गर्न नसक्ने हुँदा पुस्तान्तरणको लागि पनि भाषा जोगाउने काम आवश्यक रहेको उनले बताए। ‘समाजभित्र कति गुरूङहरु भाषाबाट टाढा हुनुहुन्छ, त्यस्ता व्यक्तिहरुको लागि अति आवश्यक भइसक्यो,’ उनले भने, ‘कुनै समय बोल्नेहरुले पनि बोल्न छाडेपछि बिर्सने जोखिम कम गराउनको लागि भाषा कक्षा निकै फलदायी भएको छ।’

समाजका उपाध्यक्ष भुवन गुरूङका अनुसार २०६२ सालमा स्थापना भएको संस्थामा हालसम्म ९२ धुरी आवद्ध भइसकेका छन्। त्यसमा गोरखा जिल्लाका बढी छन्। त्यसबाहेक लम्जुङ, धादिङ, तनहुँ, कास्की, चितवन आदि जिल्लाका गुरूङहरु पनि आवद्ध छन्। भरतपुरमा बाहिरी क्षेत्रबाट आएर बसोबास गर्नेहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा भाषा बोल्नेभन्दा नबोल्नेको सङ्ख्या बढी भयो भने भाषा नै हराउन सक्ने जोखिम भएकोले गुरूङ जातिको बसोबास रहेको क्षेत्रमा भाषा कक्षा आवश्यक भइसकेको उनको भनाइ छ।

‘समाजभित्र भाषा बोल्ने र नबोल्नेबीच भेट हुँदा आफ्नो भाषाको अर्थ नहुने हुँदा भाषालाई अर्थपूर्ण बनाउनको लागि पनि सिकाइ जरूरी छ,’ उनले भने, ‘हामीले समाज गठन गरिसकेपछि पहिलोपटक भाषाको कक्षा सञ्चालन गरेका हौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनु आवश्यक छ।’

तालिम असाध्यै उपलब्धीमुलक बनेको प्रशिक्षार्थीहरुले बताएका छन्। भाषा कक्षामा सहभागी हुँदा घरमा भाषा जान्ने मान्छे आउँदा बोलेको सुनेका शब्दहरुलाई नजिकबाट नियाल्ने मौका पाएको प्रशिक्षार्थी सुमित्रा गुरूङले बताइन्। भाषाको मह¤व कति छ भन्ने कुरा भाषा नजान्नेहरुले भोग्दै आएको उनले बताइन्। ‘बोल्न जान्नेहरुका लागि क्यै नभए पनि हामीजस्ता भाषाबाट टाढा रहनेहरुका लागि नभइ नहुने विषय हो,’ उनले भनिन्, ‘त्यसकारण बेलामौकामा कक्षा सञ्चालन गरिरहँदा त्यसबाट कसैलाई पनि घाटा छैन।’

समापन समारोहमा समाजका सल्लाहकार सदस्य इमानसिंह गुरूङ, संस्थापक अध्यक्ष एकमान गुरूङ, निवर्तमान अध्यक्ष तिलबहादुर गुरूङ, आमा समूहकी अध्यक्ष नलुमाया गुरूङलगायत पनि उपस्थित थिए। दुई हप्तासम्म सञ्चालन भएको कक्षामा पत्रकार तुलमान गुरूङले सहजीकरण गरेका थिए। तालिमको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। तालिम लिइसकेका प्रशिक्षार्थीहरुले पहिलो चरणको तालिम सकिए पनि तत्कालै दोस्रो चरणको तालिम आयोजना गर्ने बताएका छन्।