कभर स्टोरी

रीना गुरुङको सफलता : अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टमा न्यायाधीश

नेपाली डायस्पोरामा पहिलो नेपाली न्यायाधीश बनेर तमू समुदायसँगै समग्र नेपालीको शीर उँचो बनाउनुभएको छ। 

  • अनिता गुरुङ  

कुनै पनि काममा सफलता प्राप्त गर्नका लागि शुरुदेखि नै त्यो कामप्रति अथक मिहिनेत, धैर्यता, लगाव र दृढ विश्वास चाहिन्छ। यही कुरालाई आत्मसात् गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायधीशमा नियुक्त हुन सफल हुनुभएको छ, रीना गुरुङ।

उहाँ नेपालीमूलकी संभवतः पहिलो अमेरिकी न्यायाधीश हुनुहुन्छ। १० मार्च २०२३ मा उहाँ न्यूयोर्क राज्यको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा नियुक्त हुनुभएको हो। नेपाली डायस्पोरामा पहिलो नेपाली न्यायाधीश बनेर रीना गुरुङले नेपाली समुदाय र तमू (गुरुङ) समुदायको शीर उँचो बनाउनुभएको छ।

भूतपूर्व ब्रिटिश गोरखा यामबहादुर गुरुङ र राजकुमारी गुरुङका दुई सन्तानमध्ये पहिलो सन्तान रीनाको बाल्यकाल पोखरास्थित मावली घरमा बाजे स्व. कुवीर गुरुङ (सिंगापुर इन्स्पेक्टर) र बजै स्व. विष्णु गुरुङका साथमा बित्यो।

सानैदेखि पढाइमा अब्बल रीनाले सेन्टमेरीज हाइस्कुल पोखराबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो। उहाँले Queens College, City University of New York बाट Bachelor of Business Administration in Finance मा स्नातक गर्नुभएको छ भने New England Law, Boston, Massachusetts बाट Juris Doctorate गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, ‘कानुन विषय अनन्त छ, तर कानुनमा पनि सिभिल प्रक्रिया मेरो रुचिको विषय हो।’

कानुन अध्ययन गर्दाका चुनौतीबारे उहाँ थप्नुहुन्छ, ‘कुनै पनि विषयमा पहिलो हुन चुनौतीपूर्ण कुरा हो। अमेरिकामा कानुनी पेशा भनेको पुस्तैनी कुरा हो। हाम्रो परिवारमा म नै पहिलो कानुनको विद्यार्थी भएकोले कानुनका सिद्धान्तबारे छलफल वा कुनै नियम कानुन पालना गर्नेबारे बहस हुने अवसरबाट म वञ्चित थिएँ। मैले ल स्कुलबाट नै कानुनका बारेमा आधारभूत कुराहरू सिकेँ, जबकि मेरा साथीहरूका त पहिले नै जग बसिसकेको हुन्थ्यो। त्यस्तो हुँदाहुँदै पनि मैले बिस्तारै सिक्दै र राम्रो गर्दै गएँ।’

त्यसै पनि न्यायाधीश बन्न सजिलो छैन। कडा परिश्रम, धैर्यता र लगनशीलता बिना सफलता प्राप्त गर्न सकिँदैन। रीनालाई न्यायाधीशको पदमा नियुक्त हुनका लागि करिब एक वर्ष लामो प्रक्रिया पूरा गर्नुपर्‍यो। धेरै चरणका आवेदन प्रक्रियाहरू भए, उहाँका बारेमा पूर्ण अनुसन्धान भए, विभिन्न समिति र प्रशासनिक न्यायाधीशहरूले अन्तर्वार्ताहरू लिने काम भए।

न्यायधीश नियुक्त भएपछिको अनुभव यसरी व्यक्त गर्नुहुन्छ, ‘जब म नियुक्त भएँ र न्यायाधीशको रूपमा मेरो कार्यकाल मार्च २०२३ मा सुरु गरेँ, १५ जुन २०२३ बिहीबारको दिनमा मेरो पद तथा गोपनीयताको शपथग्रहण समारोह आयोजना गरे। कोरोना महामारी पछि १११ सेन्टर स्ट्रिट अवस्थित न्यूयोर्क शहरको सिभिल कोर्टमा आयोजित यो पहिलो ‘इन्डक्सन’ समारोह थियो। महामारीपछिको यो कार्यक्रम मेरा लागि एक सम्मानको कुरा थियो। २५० भन्दा बढी मानिसहरू उपस्थित थिए। कार्यक्रम हेर्नका लागि मेरो परिवार तथा नातेदारहरू, साथीहरू, सम्मानित सहकर्मीहरू, बारका सदस्यहरूको उपस्थिति मेरो स्मृतिमा सदा सगौरव रहिरहनेछ।’

रीना हरेक दिन करिब ५०–१०० मुद्दा मामिला हेर्ने गर्नुहुन्छ। धेरै मुद्दा अदालतको हस्तक्षेपबिना नै टुंगो लाग्न सक्ने भए पनि वादी प्रतिवादीहरूले समाधान गर्न नसक्ने कुरा पनि हुन्छन्। न्यायाधीशको हैसियतले सम्बन्धित कानुनको उपयोग गर्दै, प्रस्तुत भएका तथ्यलाई ध्यानमा राख्दै र कानुनको संरक्षण गर्दै सबैलाई समान न्याय प्रदान गर्ने उहाँको कर्तव्य हो। केही निर्णय भने बेन्चबाट भएअनुसार हुन्छन्।

प्रत्येक मुद्दामामिला नितान्त बेग्लै हुने भएकोले हरेक दिन फरक हुने उहाँ बताउनुहुन्छ। रीना भन्नुहुन्छ, ‘मैले होसियारीपूर्वक, नम्रतासाथ समानुभूतिपूर्वक न्याय सम्पादन गर्दछु। म हरेक कामलाई मेरो क्षमताले भ्याएसम्म एकदम राम्रोसँग गर्ने प्रयास गर्छु। सबैभन्दा पहिले म हुँ भन्ने कुराले मैले दैनिकरूपमा गर्ने कामसँग सरोकार राख्दैन। मैले आफूलाई आफैँले एक नम्बरको (ट्रेलब्लेजर) भन्न मन पराउँदिनँ। बरू जिम्मेवारीले मान्छेलाई त्यस्तो बनाउँछ भन्नेमा म सचेत छु। आउने पुस्तालाई नेतृत्व र प्रेरणा दिने अवसरहरूलाई म सधैंँ स्वागत गर्छु।’

आफ्नो सफलताको श्रेय ज्यादै मिहिनेती आफ्ना मावली बाजेबजैलाई दिनुहुन्छ, उहाँ। कहिल्यै पनि हार नमान्नू, मिहिनेतको फल परिश्रम गर्नू, अनुशासित हुनू, र कल्पनाशील हुनू भन्ने मावली बाजेबजैले दिँदै आउनुभएको उपदेशलाई सधैं मनन गर्नुहुन्छ उहाँ। युवा पुस्तालाई पनि यसरी नै आफ्नो लक्ष्यमा दृढ हुन अनुरोध गर्नहुन्छ।

नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।