गीत–संगीत

लमजुङका कमललाई तमू स्रष्टा सम्मान

गुरुङ चलचित्र तथा म्युजिक भिडियोमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने काममा कलाकार कमलबहादुर गुरुङ सक्रीय हुँदै आएका छन्।

लमजुङ । तमू कलाकार कमलबहादुर गुरुङलाई तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिले सम्मान गरेको छ। तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिको १२औं महाधिवेशनको क्रममा कमलबहादुरलाई तनहुँको दमौलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत सम्मान गरिएको हो।

कमलबहादुर पछिल्लो समय गुरुङ चलचित्र निर्देशनमा व्यस्त छन्। गुरुङ समुदायको संस्कृति, कला, नृत्य, गीतसंगीत तथा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई तमू स्रष्टा सम्मान विधाअन्तर्गत सम्मान गरिएको तमू विद्यार्थी छोंज धींले जनाएको छ।

गुरुङ कला र संस्कृतिमा पछिल्लो पुस्ताका एक हस्ती २९ वर्षीय कमलबहादुर गुरुङ लमजुङको क्होलासोथार गाउँपालिका–४, भुजुङका स्थानीय हुन्। २०६८ मा एसएलसी दिएपछि थप अध्ययनका लागि सदरमुकाम बेंसीसहर झरेका उनले नवज्योति सांस्कृतिक कला केन्द्रबाट कलाकारिताको यात्रा प्रारम्भ गरेका हुन्।

मनाङे चौतारा युवा क्लब र भुजुङ समाजमा उनले नृत्य निर्देशन गर्ने जिम्मा सम्हाल्दै गाउँमा हुने क्लबका कार्यक्रम, वैशाख पूर्णिमा, दसैंतिहार, ल्होसार, शिवरात्री, बिहे, पुटपुटे, भोजभतेर तथा मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उनले आफ्नो प्रस्तुति देखाउँथे। प्रतियोगितात्मक कार्यक्रमहरुमा समेत सफलता हात पार्दै उनी चर्चाको शिखरमा रहे।

बेसीसहरबाट पोखरा हान्निएका उनी २०७२ को ल्होसारमा तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको खुल्ला सामूहिक नृत्य प्रतियोगितामा समाजका तर्फबाट उनी नृत्य निर्देशक बने। विभिन्न समाजबाट १२ टिमले सहभागीता जनाएकोमा भुजुङ प्रथम बन्यो। भुजुङको टीम लगातार ३ वर्ष प्रथम भएर उनले ह्याट्रिक गरे।

त्यतिमात्र नभएर २०७३ देखि २०७५ सम्म यस क्षेत्रकै चर्चित सिक्लेस मेलामा लगातार ३ वर्ष प्रतियोगिता जिताएर ह्याट्रिक गरे। बेंसीसहर बस्दा नेपाली सेनाको व्यारेकदेखि तनहुँको महोत्सवसम्म आफ्नो प्रतिभा देखाउन पाएका कमल पोखरामा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का विभिन्न कार्यक्रम, कास्की जिल्लास्तरीय विभिन्न नृत्य प्रतियोगितामा भाग लिएसँगै निर्णायक बने।

उनी पछि भिडियोतर्फ आकर्षित हुँदै गए। २०७३ सालमा मोबाइलले खिचेको कभर म्युजिक भिडियो बनाएर फेसबुकमा राखेपछि धेरैले मन पराए। त्यसपछि २०७४ को शिवरात्रीमा भुजुङ गाउँ चिनारीको कभर म्युजिक भिडियो पनि मोवाइलले नै खिचेरै बनाए। त्यसलाई भने उनले युट्युबमा राखे।

उनी तमू प्ये ल्हु संघ र प्राचीन नेपालमा आवद्ध भए। त्यसपछि अग्रजहरुको सहायक बनेर म्युजिक भिडियोहरु निर्देशन गर्न थाले। पछि तरेली सांस्कृतिक परिवारमा आवद्ध भएर उनी कला क्षेत्रमा अघि बढे। त्यसयता उनी म्युजिक भिडियो निर्माण र निर्देशनमा सक्रीय छन्।

२०६८ कार्तिकमा भुजुङमा निर्माण गरिएको फिल्म मारय ट (सुनको फूल)मा आवद्ध भए। त्यसपछि फिल्म ‘म्ले क्यु’, (बिर्साउने पानी), ‘मारक्यु’ (सुनपानी)लगायतमा आवद्ध भए। गुरुङ चलचित्र क्षेत्रमा कलाकारहरु मनोज गुरुङ र माओत्से गुरुङसँग जोडिएपछि यस क्षेत्रबारे थप बुझ्ने मौका पाए।

नृत्य प्रतियोगितामा उनले आठौं नेशनल क्यापिटल अवार्ड २०७८ मा वेष्ट कोरियोग्राफरको अवार्डसमेत जितेका छन्। रारा नेशनल म्युजिक अवार्ड २०७९ मा वेष्ट डान्स डाइरेक्टर तथा नेशनल म्युजिक अवार्ड २०८० मा वेष्ट कोरियोग्राफरको अवार्ड जितेका छन्।

जनस्तरबाट गण्डकी प्रदेशकै नामुद युवा कलाकारको उपमा पाएका कमलले धेरैवटा गाउँको गाउँ चिनारीको म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। म्युजिक भिडियोकै माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने प्रयास गर्दै आइरहेका छन्।