गुरुङ विशेष

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा यूकेका समाजसेवीहरू सम्मानित

काठमाडौ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिले नेपाल भ्रमणमा रहेका यूकेस्थित विभिन्न तमु संस्थाका पदाधिकारीहरूलाई भेटघाटसहित सम्मान गरेको छ। सम्मानित हुनेहरूमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमु धीं युकेका वरिष्ठ उपाध्यक्ष पर्शु गुरुङ, तमु धीं यूके आमा समूहका वरिष्ठ उपाध्यक्ष नन्द गुरुङ तथा गोरखा जिल्ला तमु समाज युकेका अध्यक्ष टेकमान गुरुङ रहेका छन्। उनीहरुलाई परिषद्ले बुधबार सम्मान गरेको हो ।

उक्त अवसरमा परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले ह्युलका वर्तमान गतिविधि तथा भावी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो। अध्यक्ष धनमान गुरुङले खादा, फेटा र क्रमु ओडाएर सम्मान व्यक्त गर्नुभएको कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। महासचिव गुरुङका अनुसार परिषद्को देशभर ६५ जिल्लामा तथा विदेशमा समेत आधिकारिक शाखा विस्तार भइसकेको बताए ।

सम्मानित अतिथिहरूले स्वदेश–विदेशमा रहेका तमु संघ–संस्थाबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखा तमु समाज युकेका अध्यक्ष टेकमान गुरुङले आफूहरू रहेको स्थानमा गुरुङ भाषा बोल्ने संख्या कम भए पनि ह्युलसँग सहकार्य जारी रहने बताउनुभयो। तमु धीँ युकेका वरिष्ठ उपाध्यक्ष पर्शु गुरुङले नयाँ कार्यसमिति चयनपछि नेपाल आउँदा ह्युलसँग भेटघाट गर्ने परम्परा रहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।

तमु समाज युकेका सस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले अगाडीको कार्यकालदेखि नै सहकार्य गर्दै आएको र संस्थालाई किचनमा आवश्यक सामग्री सहयोग गरिएको स्मरण गर्दै आगामी दिनमा पनि संस्थागत सम्बन्ध अझ सुदृढ बनाउने बताउनुभयो। अध्यक्ष धनमान गुरुङले स्वदेश तथा विदेशमा रहेका सबै संघ–संस्थासँग सहकार्य गर्दै संस्थागत कामलाई तीव्रता दिने धारणा व्यक्त गर्नुभयो। उक्त अवसरमा अन्तरास्ट्रिय तमु परिषदले खदा लगाइ स्वागत गरेको थियो ।