ब्यानर

मिलिजुली तमू समाजको २८ औँ वार्षिकोत्सव तथा “स्यों कइ” कार्यक्रम सम्पन्न

काठमाडौं, । मिलिजुली तमू समाजको २८औँ वार्षिकोत्सव तथा “स्यों कइ” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजले हरेक वर्ष फागुन महिनाको पहिलो शनिबार वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ।

स्याङ्जा र कास्की जिल्लाको सिमाना फेदीखोला गाउँ वरिपरिका गाउँबाट काठमाडौंमा आई बसोबास गरेका तमू समुदायका व्यक्तिहरू मिलेर गठन गरेको उक्त समाज २०५४ साल माघ ११ गते स्थापना भएको हो। संस्थापक अध्यक्ष खेमबहादुर गुरुङका अनुसार हाल समाजमा १३५ घरधुरी आबद्ध छन्। समाजले आफ्नो मूल गाउँ–ठाउँमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, पछिल्ला केही वर्षदेखि “न्यानो ल्होछार” कार्यक्रम पनि मनाउँदै आइरहेको छ।

वार्षिकोत्सवको अवसरमा समाजले ८४ वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकहरू—भिम कुमारी गुरुङ, मनु गुरुङ, रूपकुमारी गुरुङ, लालकाजी गुरुङ र उजिर सिंह गुरुङ—लाई जेष्ठ नागरिक सम्मान प्रदान गरेको थियो।

त्यस्तै प्राध्यापक डा. रेनु गुरुङ, सह–प्राध्यापक पुष्प बहादुर गुरुङ, ब्री.ज. मोहनचन्द्र गुरुङ, विश्वराज गुरुङ (स्नाकोत्तर), ओजस्वी गुरुङ (स्नातक) र मीशारा गुरुङ (एसईई) लाई बधाई तथा सम्मान गरिएको थियो।

उक्त अवसरमा प्रमुख अतिथि भवरजङ्ग गुरुङ तथा आमा समूहकी अतिथि विष्णु कुमारी गुरुङले खदा, फेटा, क्रमु तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष तथा समाजका अध्यक्ष कमलकृष्ण गुरुङले अहाले चित्यान निवासी चिफ इन्स्पेक्टर समीर गुरुङ र टोर्के निवासी क्याप्टेन किशोर गुरुङलाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्नुभयो।

प्रमुख अतिथि भवरजङ्ग गुरुङले संस्थालाई अझ फराकिलो बनाउँदै तमू भाषा, लिपि र ज्ञानसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। संस्थाका पूर्व अध्यक्ष पुष्प बहादुर गुरुङले संस्थाको स्थापना र गतिविधिबारे चर्चा गर्नुभएको थियो। साथै कार्यक्रममा समाजका कोषाध्यक्ष अमर गुरुङले आर्थिक प्रतिवेदन र महासचिव लाला गुरुङ्ले सस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो।