प्रवास

तमु प्हे ल्हु संघ युकेले धुमधामले मनायो त–ल्होसार

युके । गत ३० डिसेम्बर २०२५, मंगलबारको दिनमा तमु प्ये ल्हु संघ युकेले सर्प वर्गको विदाई र घोडा वर्गको स्वागत गर्दै परम्परागत रुपमा पूजाआज गरी धुमधामले त–ल्होसार महोत्सव सम्पन्न गरेको छ । हेरो लेजर सेन्टर, हेरो, लण्डनमा आयोजित उक्त त–ल्होसार महोत्सवमा बिहान १० बजेदेखि तमु धर्मगुरुहरु पच्यु र क्ल्हेप्रीले सामूहिक रुपमा छ्योप, पार्क र थासोँ पूजा गरेर जाने वर्ग र आउने वर्गको स्वस्ती शान्ति गराइएको थियो ।

पूजामा जाने (सर्प) वर्ग र आउने (घोडा) वर्गका मानिसहरुको ग्रह शान्ति तथा सर्प वर्ग र घोण वर्गले भोग गर्दा असर पर्ने अन्य वर्गहरुको ग्रहदशा शान्ति गराएका थिए । धािर्मक दृष्टिकोणले बढी मान्यता राख्ने यो ल्होसार पर्वमा विशेष गरी पूजामा जपिएका प्हैरु (रिप) लगाई प्रसाद ग्रहण गरेमा ग्रशाशान्ति हुने विश्वास छ । यसर्थ पूजामा भक्तजनको घुँईचो लागेको थियो ।

बेलायतका लागि नेपाली एम्बेसीका कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्यता रहेको उक्त त–ल्होसार महोत्सवमा बेलायतमा क्रियाशिल विभिन्न संघ–सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिध्यता रहेको थियो । धार्मिक पूजा, औचारिक र साँस्कृतिक गरी तीन चरण सन्चालन गरिएको कार्यक्रमको औपचारिक कार्यक्रम दिउँसो चार बजेदेखि शुरु गरिएको थियो भने साँस्कृतिक कार्यक्रम साँझ छ बजेदेखि शुरु गरिएको थियो । संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमु युवा एम्बेस्डर सिर्जना च्हम्रु तमु र युवा सल्लाहकार दुर्गा योज तमुले संचालन गरेको औपचारिक कार्यक्रममा विभिन्न विश्व विद्यालयबाट उच्च शिक्षामा विद्यावारिधी हासिल गरेका छात्रछात्राहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी विभिन्न संघ–सँस्थाको नेतृत्वमा निर्वाचित अध्यक्षहरु लगायत बेलायती सेनामा कार्यरत विशिष्ट तहमा पदोन्नति प्राप्त गर्नु भएका गोर्खा अफिसरहरुलाई पनि सम्मान गरी बधाई दिइएको थियो ।

औपचारिक कार्यक्रमको क्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडीले ल्होसार पर्व साँस्कृतिक रुपमा नेपाललाई चिनाउने एउटा विशेष पर्व रहेको बताएका थिए भने संघका अध्यक्ष क्या। डेम बहादुर योज तमुले ल्होसार पर्वको महिमा र कार्यक्रमको उद्धेश्यबारे प्रष्टाउदै तमु जातिको परम्परागत धर्म, संस्कार, सँस्कृति, भाषा, भेषभुषा तथा इतिहासको संरक्षण सम्वर्धन तथा प्रवर्धन गर्दै नयाँ पुस्तालाई सिकाउन र हस्तान्तरण गर्न तमु प्ये ल्हु संघले व्यवहारमा अभ्यास गरिरहेको कुरा बताउनु भयो ।

छोटो र मिठो औपचारिक कार्यक्रम पश्चान स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहेको साँस्कृतिक कार्यक्रम रहेको थियो भने नेपालदेखि आउनु भएका चर्चिक गायक चिज गुरुङ्ग, निर्जला गुरुङ्ग र बालकाशी गुरुङ्गको विशेष प्रस्तुतिले साँस्कृतिक कार्यक्रममा रौनकता थपेको थियो । करिव डेढ घण्टाको रमाईलो प्रस्तुतिपछि ल्हो (वर्ग) स्थानान्तरणको प्रतिक स्वरुप ल्होसार मार्किङ्गको लागि कन्फेटी पोप्पर पड्काएर खुशीयाली मनाइएको थियो ।

ल्होसार महोत्सवलाई थप मनोरन्जनात्मक बनाउनको लागि राफल ड्र समेत समावेश गरिएको थियो जसको पुरस्कार प्रायोजन प्रथम, द्धितिय र तृतिय क्रमशः जय श्री कृष्ण ज्वैलर्स हेरो, लामा ज्वैलर्स अल्डरशोट र गोर्खा किचन, अल्डरशोटले प्रायोजन गरेका थिए । करिव १४–१५ सयको हाराहारिमा जनमानसको उपस्थिति रहेको त–ल्होसार महोत्सव समग्रमा पाहुना सत्कार, खानापिना, शुभकामना आदन प्रदान एवं रमाईलो भेटघाट सबै पक्षमा रंग भरिएको थियो भने कार्यक्रम भव्य र सभ्य भएको थियो ।