भाषा÷साहित्य

गुरुङ भाषा र संस्कृतिका अध्येता पैंडी इन्द्रबहादुर गुरुङको निधन

गुरुङ समुदायका साहित्यकार, भाषाविज्ञ तथा संस्कृतिविद् पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा बिहीबार राति करिब ८ बजे उनको निधन भएको परिवारले जनाएको छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङमा वि।सं। १९९१ भदौ ३१ गते जन्मिएका गुरुङ शिरसुब्बा गुरुङ र चर्माखु गुरुङका छोरा हुन् । गुरुङ समुदायमा पुरोहितलाई ‘पैंडी’ भनिन्छ । उनी गुरुङ भाषा, संस्कार र संस्कृतिका अध्येता थिए ।

गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य थिए । पञ्चायतकालमा उनी तत्कालीन जिल्ला पञ्चायत लमजुङका दुई कार्यकाल उपसभापति रहेका थिए ।

वि.सं. २०४९ सालदेखि पुस्तक प्रकाशन सुरु गरेका गुरुङका गुरुङ भाषा, धर्म, ज्योतिष, संस्कार र संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनका प्रमुख कृतिहरूमा तमु चि ९गुरुङ ज्योतिष०, बुद्ध तथा बोन्पो क्यालेन्डर, तो ताँ सोंफु, गुरुङ–नेपाली शब्दकोष, तमु अवस्थलको परिचय, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, तमु सांस्कृतिक दिग्दर्शन, सेर्का क्वे ९सेर्गा गीत० लगायत छन् ।

तीन वर्षअघि उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक तीनवटा पुस्तक एकैसाथ प्रकाशित गरेका थिए । गुरुङ पर्यावरण गीत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो ।

गुरुङ शुभराज्याभिषेक पदक, प्राज्ञ मातृभाषा साहित्य पुरस्कारलगायत विभिन्न सम्मानबाट सम्मानित भएका थिए । उनी लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालय, भोर्लेटारको ईशानेश्वर माध्यमिक विद्यालय र गिलुङको बुद्धोदय माध्यमिक विद्यालयका अध्यक्षसमेत थिए । साथै चिनियाँ–तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्षका रूपमा उनले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान दिएका थिए ।

पछिल्लो समय दृष्टि कमजोर हुँदै गएको, श्रवण शक्ति घटेको र दमको समस्याबाट पीडित गुरुङ बिहीबार अचानक बिरामी भएपछि उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।

उनका श्रीमती काशीपिरी गुरुङ, छोराहरु सुरेन्द्रकुमार गुरुङ र बीरेन्द्रकुमार गुरुङ तथा छोरीहरू हेममाया घले र चन्द्रकुमारी गुरुङ छन् ।

गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा अध्ययन–अनुसन्धानमा जीवन समर्पण गरेका पैंडी इन्द्रबहादुर गुरुङको निधनले गुरुङ समुदायले ठूलो र अपूरणीय क्षति व्यहोरेको समुदायका अगुवाहरूले बताएका छन् ।