काठमाडौँ । पहिलो तमू फोटो प्रतियोगितामा राम गुरूङ प्रथम भएका छन्। प्रतियोगितामा सहभागी कूल १६८ वटा तस्बिरमध्येबाट राम गुरूङको तस्बिर उत्कृष्ट ठहरिएको हो। अन्तर्राष्ट्रिय तमू काउन्सिल (आइटीसी)ले तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन)सँगको सहकार्य तथा तमू ह्यूल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् काठमाडौँको समन्वयमा आयोजना गरेको प्रतियोगितामा युनिश गुरूङले द्वितीय स्थान हासिल गरेका छन्।
तृतीय स्थानमा भने आश गुरूङले आफ्नो क्षमतालाई सुरक्षित राख्न सफल भएका छन्। प्रतियोगितामा नवीनबाबु गुरूङ र सुजन गुरूङले पनि सान्त्वना स्थान हासिल गरेका छन्। प्रथम पुरस्कारस्वरुप नगद १५ हजार, द्वितीय पुरस्कारस्वरुप नगद १२ हजार र तृतीय पुरस्कारस्वरुप नगद १० हजारका साथै सान्त्वना स्थान हासिल गरेका दुई जनालाई जनही तीन/तीन हजार रुपैयाँको दरले पुरस्कृत भएका छन्।

आइटीसीका महासचिव एवम् अधिवक्ता राजु गुरूङका अनुसार प्रतियोगितामा पुरस्कार प्राप्त गर्नेहरुलाई तमू ल्होसार २०८२ को अवसरमा पुस १४ गते टुँडिखेलमा पुरस्कार प्रदान गरिने छ।
गुरूङ समुदायका फोटो पत्रकारहरूलाई मात्र सहभागी गराइएको प्रतियोगितामा फोटो पत्रकारहरुले गुरूङ समुदायको बसोबास रहेका विभिन्न बस्ती पुगेर खिचिएका १६८ तस्बिर प्रदर्शनीमा राखिएका थिए। तीमध्ये गुरूङ बस्ती, संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ तस्बिरलाई उत्कृष्ट छनोट गरी पाँच तस्बिरलाई पुरस्कृत गरिएको हो।
प्रदर्शनीमा तस्बिरमार्फत् टुँडिखेलदेखि क्होलासोथरका गुरूङ गाउँहरुलाई चित्रण गरिएको थियो।






