काठमाडौँ । नेपालका आदिवासी जनजाति समुदायको कला, संस्कृति, भेषभूषा, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको “तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड” समारोह २०८२ साल पुस १० गते बिहीबार काठमाडौँस्थित चलचित्र विकास बोर्ड, चावहिलमा भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त समारोहमा तमु समाज युकेले कुल ३५ विधामध्ये आदिवासी सर्वोत्कृष्ट गीत विधासहित पाँच विधामा जनमत (भोटिङ) का आधारमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ । यो उपलब्धिलाई तमु समुदायका लागि गौरवको विषयका रूपमा लिइएको छ ।
तमु समाज युकेले आदिवासी सर्वोत्कृष्ट गीत विधा, आदिवासी गीतकार विधाअन्तर्गत सूर्य गुरुङ, आदिवासी म्युजिक भिडियो निर्देशक विधाअन्तर्गत तन्याङ सरु गुरुङ राना, मौलिक गीत गायन विधा अन्तर्गत आरके गुरुङ तथा मौलिक गुरुङ गीत गायिका विधा अन्तर्गत अनिता गुरुङले अवार्ड पाउन सफल भएको हो।
आदिवासी जनजातिको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण, प्रवर्द्धन र पहिचानको महान उद्देश्यसहित निरन्तर क्रियाशील रहँदै आएको तमु समाज युकेको यो सफलता संस्थागत एकता, सक्षम नेतृत्व, सृजनशीलता र समर्पणको प्रतिफल भएको बताइएको छ। यसले भावी पुस्तालाई समेत सकारात्मक प्रेरणा दिने विश्वास लिइएको छ।
अवार्ड समारोहमा तमु समाज युकेको तर्फबाट प्रतिनिधित्व गर्दै सल्लाहकार तथा पूर्व महासचिव ज्ञानबहादुर गुरुङ, पत्रकार लाला गुरुङ, मेजर दिलबहादुर गुरुङ एमभीओ, गायक आरके गुरुङ र अमित गुरुङको उपस्थिति रहेको थियो।
यसैगरी, कार्यक्रमलाई भव्य र सफल बनाउन नेतृत्व प्रदान गर्नुहुने राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डका अध्यक्ष उमेश गुरुङ, क्वालिटी फिल्म्स नेपाल, आयोजक टिम, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति तमु समाज युकेका अध्यक्ष विन्दु कुमारी गुरुङ घलेले धन्यवाद ज्ञापन गरेका छन ।
भोटिङ अभियानलाई युके र नेपाल दुवै स्थानबाट प्रभावकारी रूपमा अघि बढाउन योगदान पुर्याउने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ तथा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेप्रति विशेष आभार व्यक्त गरिएको छ । साथै, समाजका गीत तथा विभिन्न विधामा भोट गरी विजय सुनिश्चित गराउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, समर्थक र महानुभावहरूप्रति तमु समाज युकेले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
उक्त अवार्ड वितरण कार्यक्रममा सर्वोत्कृष्ट जनजातिगीततर्फ हङकङको चिनो र बेष्ट मोडेल फिमेलतर्फ हङकङको चिनोबाट रिस्ता गुरुङले जित्न सफल भएका छन।
प्रमुख अथिति दिनेश डिसि, विशेष अथिति कविता आले, धिरेन शाक्य, राजेन्द्र खडकी रहेको उक्त कार्यक्रममा पत्रकार अनिल गुरुङ, अग्रज गायक तथा संगीतकार कृष्ण गुरुङलाई सम्मान गरिएको थियो ।






