सानोभोर्ले । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा मिलिजुली तमू समाज काठमाण्डौले न्यानो कपडा र पौष्टिक आहार वितरण गरेको छ । समाजले न्यानो ल्होसार अभियान अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ सानो भोर्लेमा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत ३० विद्यार्थी र करिब ४० घर परिवार विपन्न समुदायलाई न्यानो कपडा र पौष्टिक आहार वितरण गरेको हो ।

आईतबार गाउँमै पुगेर वितरण गरिएको सामाग्रीहरुमा हरेक विद्यार्थीलाई न्यानो कपडा अन्तर्गत ट्रयाकसुट सेट, स्विटर, टिसर्ट, चप्पल, टोपी र झोला रहेको थियो भने विपन्न परिवारलाई परिवार संख्या अनुसार न्यानो कपडामा ओढ्ने ब्लाङ्केट, स्विटर, ज्याकेट, लुङ्गी, तन्ना, टोपी रहेको थियो । यस्तै पौष्टिक आहार अन्तर्गत हरेक परिवारलाई एक क्रेट अण्डा, चाउचाउ, बिस्कुट समेत वितरण गरिएको थियो ।

मिलिजुली तमू समाज काठमाण्डौको आयोजना भएको उक्त कार्यक्रममा फेदिखोला तमू समाज युके, चारभञ्ज्याङ्ग तमू समाज, सुखावती स्टोर फाउण्डेशन, ङोलोङोलोस्यो टिकटक परिवार, तमू बौद्ध सेवा समिति नेपाल सह–आयोजक रहने गरेको छ ।

यस्तै कार्यक्रममा मिलिजुली तमू समाज काठमाण्डौका अध्यक्ष कमलकृष्ण गुरुङ, उपाध्यक्षद्वय राजु गुरुङ र शेरजंग गुरुङ, महासचिव लाला गुरुङ, तमू बौद्ध सेवा समिति नेपाल काठमाण्डौका पूर्वअध्यक्ष क्याप्टेन तोरण बहादुर गुरुङ, रुप बहादुर गुरुङ, समाजसेवी निरज शाक्य लगायतको उपस्थिति रहेको थियो ।









