ब्यानर

तमू साँस्कृतिक प्रतिष्ठानको पुनर्मिलन कार्यक्रम सम्पन्न

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानले स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा एक कार्यक्रमको आयोजना गरि भव्य रुपमा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
विधिवत रुपमा वि.सं. २०५८ सालमा स्थापना भै गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको यो संस्था जापानमा गठन भइ नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ । २५ बर्षको दौरानमा रहेको प्रतिष्ठानले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवम् शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखी भेटघाट हुन नसकेका व्यक्तित्वहरु तथा कामको व्यस्तताले रमाइलो माहोलमा आफूलाई समाहित गर्न अवसर नमिलेका व्यक्तिहरुलाई जमघट गराई खुशी र आफ्ना भावनाहरु साट्न यस्तो कार्यक्रमको आयोजना गरिएको तमू साँस्कृतिक प्रतिष्ठान नेपालका सचिव कन्चन गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने गायक राजबहादुर गुरुङ, सङ्गिता गुरुङ, डविन गुरुङ र प्रकाश रानाको सुमधुर आवाजले कार्यक्रममा थप रौनक थपिएको थियो । संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङद्वारा तयार पारिएको स्थापनाकालदेखि २५ वर्षसम्म भएका संस्थाका गतिविधिहरु समेटिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको कार्यक्रममा टेक गुरुङ, धीरबहादुर गुरुङ, पदमशोभा गुरुङ, मनकुमारी गुरुङ र हुमबहादुर गुरुङले आजिवन सदस्यता ग्रहण गर्नुभएको थियो भने दरौं सिरुबारी, घर भै हाल युके निवासी सीता गुरुङ्द्वारा १० हजार १ सय ५ र संस्थाका पूर्व कोषाध्यक्ष भिमकाजी गुरुङ र उहाँकि धर्मपत्नी विष्णु गुरुङद्वारा २० हजार १ सय रुपैयाँ कार्यक्रम सफलताका लागि शुभकामना सहित नगद सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा सहयोग र सेवाको भावनाले ओतप्रोत भएका पर्वत राम्जाकोट, हाल पोखरा नयाँ गाउँ निवासी, तमु धीं जापानका संस्थापक अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङ र परनिता गुरुङले १ लाख २५ हजार रकम बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

प्रतिष्ठानका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीजङ गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सह–सचीव लोकबहादुर गुरुङ तथा द्वितीय उपाध्यक्ष ओम गुरुङले गर्नुभएको थियो ।