गुरुङ विशेष

तमु धीं किताकान्तो जापानले ‘तमु ल्होछार–२०२५’ विशेष कार्यक्रम गर्ने

जापान :जापानमा क्रियाशील तमु धीं किताकान्तो जापानले तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘तमु ल्होछार–२०२५’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने यस कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश रहने महासचिव भरत गुरुङले जनाएको छ।

कार्यक्रम तमु समुदायको नयाँ वर्षको अवसरमा आपसी सद्भाव, एकता र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको हो। ल्होछारका सांस्कृतिक प्रतीक, परम्परागत भेषभूषा, रीति–रिवाज तथा सांस्कृतिक कार्यक्रममार्फत तमु संस्कृतिको पहिचान उजागर गरिनेछ।

आयोजकका अनुसार तमु ल्होछार–२०२५ कार्यक्रम २०२५ डिसेम्बर ३१ गते बुधबार, दिउँसो १२:०० बजेदेखि जापानको गुन्मा प्रिफेक्चरस्थित ब्राजिलियन प्लाजा वर्ल्ड टाउन, ओरा डिस्ट्रिक्ट, ओइजुमी, निशिकोइजुमीमा आयोजना हुनेछ। कार्यक्रममा जापानमा बसोबास गर्ने तमु समुदायका साथै विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।तमु धीं किताकान्तो जापानले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तमु समुदाय, शुभेच्छुक तथा सांस्कृतिक प्रेमीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।