युके: तमू समुदायको इतिहास, पहिचान र संस्कृतिसँग प्रत्यक्ष जोडिएको त–ल्हो (घोडा वर्ग) तमू ल्होछार/ल्होसार २०८२ पर्वको अवसरमा तमू समाज युकेले यस वर्ष भव्य र अविस्मरणीय सांस्कृतिक कार्यक्रम सहित मनाउने तयारी गरेको छ ।२००७ सालमा स्थापना भएको यस संस्थाले युकेमा बसेका तमू दाजुभाइ–दिदीबहिनी, शुभेच्छुक र सांस्कृतिक प्रेमीहरूलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ कार्यक्रमलाई “विशेष संस्करण” रूपमा आयोजना गर्न लागेको छ।

“प्ये म्हस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”
(शास्त्र हराए संस्कार हराउँछ; संस्कार हराए संस्कृति हराउँछ; संस्कृति हराए मानव अस्तित्व हराउँछ)भन्ने पर्वको मूल भावना, सांस्कृतिक चेतना र समुदायको आत्मगौरवलाई झनै सशक्त बनाएको छ।Rangjung Yeshe Oddiyana – UKCIO बुद्दिष्ट सेन्टर फानबोरो का द्रुब्ला गुरु बाट तमू समाज युकेको आफ्नै भवन नेप्लिज कम्युनिटी सेन्टर,बारहम पार्कमा २७ डिसेम्बर का दिन बिहान ९ वजे देखि ४ वजे सम्म ग्रहशान्ती पुजाको आयोजना गरि ल्होछार को शुरुवात गरिने समाजका महासचिव सुब घलेले बताएको छ ।
कार्यक्रममा तमु समाज युकेका कलाकारहरू मात्र होइन, नेपालबाट विशेषरूपमा आमन्त्रित चर्चित कलाकार निर्जला गुरुङ र चिज गुरुङको धमाकेदार प्रस्तुति रहनेछ।यसले कार्यक्रमलाई सामान्य सांस्कृतिक शो भन्दा धेरै माथि उठाउँदै ल्होसारको सांगीतिक, सांस्कृतिक र भावनात्मक उत्सवको रूपमा परिणत गर्नेछ।

कार्यक्रम ३ जनवरी २०२६ का दिन साँझ ४:३० बजे देखि राति १२:०० बजे सम्म चल्ने महासचिव सुब घले ले जानकारी दिए ।कार्यक्रम स्थान: Byron Hall, Harrow Leisure Centre, HA3 5BD मा हुनेछ ।तमु समाज युकेले सम्पूर्ण युके मा रहनु भएका गुरुङ तथा नेपाली समुदायलाई समय मिलाई उपस्थित भइ सप्री ल्हो (सर्प वर्ग) लाई बिदाइ र त–ल्हो (घोडा वर्ग) लाई स्वागत गर्ने यस ऐतिहासिक क्षणमा सहभागी हुन अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक Raffle Draw को व्यवस्था यस वर्ष पहिलो र दोश्रो पुरस्कार सुन,
तेस्रो पुरस्कार – £100 नगद प्रदान गरिने उपाध्यक्ष तथा ल्होछार सम्योजक श्री केदार बहादुर गुरुङ ले जनाए ।
कार्यक्रमलाई सफल पार्नको लागि प्रायोजन समेत गर्नु सकिने कोषाध्यक्ष श्री चन्द्रकान्त गुरुङले बताएका छन ।
सहयोगले केवल कार्यक्रमलाई मात्र होइन, तमू कला, संस्कृति र पहिचानको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।





