गुरुङ विशेष

दक्षिण कोरियामा तमू (गुरुङ) समुदायले तमू ल्होसार २०२६ भव्य रूपमा मनाउने

दक्षिण कोरियामा क्रियाशील तमू (गुरुङ) समुदायको साझा तथा गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले तमू समुदायको महान चाड तथा नेपाली राष्ट्रिय पर्व तमू ल्होसार २०२६ भव्य रूपमा मनाउने भएको छ। कोरियामा बसोबास गर्ने तमूहरूलाई आइपर्ने विविध दुःख, कष्ट तथा समस्याको समाधानमा सहयोग पुर्‍याउँदै तमू भाषा, लिपी, भेषभूषा, धर्म–संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाले स्थापना कालदेखि नै ल्होसार कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आएको छ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कोरियाबासी तमूहरूको साझा संस्थाको आयोजनामा सप्री ल्हो (सर्प वर्ग) को विदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायको मौलिक परम्परा अनुसार ल्होसार मनाइनेछ। कार्यक्रममा तमूहरूको मौलिक परिकारसहित स्योंकै (दिवा भोज), रुपा लगाएर स्याई–स्याई गर्ने, आपसी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

यसपटकको “तमू (सप्री) ल्होसार २०२६” कार्यक्रमलाई अझ विशेष बनाउँदै स्थानीय कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक प्रस्तुति राखिने भएको छ। कार्यक्रममार्फत तमू समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै समग्र तमू समुदायको उत्थान तथा देश–विदेशमा रहेका संघ–संस्थाहरूसँग समन्वय गर्दै अघि बढ्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ।

उक्त कार्यक्रम आगामी ४ जनवरी २०२६ मा दक्षिण कोरियाको सउलस्थित Hotel Skypark Kingstown Dongdaemun (Doota Mall Paxadiko Hyundai Outlet Building), १४औँ तलामा आयोजना हुनेछ। तमू धीं दक्षिण कोरियाले तमू ल्होसारको पावन अवसरमा आयोजना हुने कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अध्यक्ष तेज बहादुर गुरुङले हार्दिक निमन्त्रणा गरेको छ।