News

गुरुङ भाषाको गीत ङिल रोधीँरी सार्वजनिक

काठमाडौँ । गुरुङ समुदायको रोधीँ संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधीँरी’ सार्वजनिक गरिएको छ। काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा रहेको गीत सार्वजनिक कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेशका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडाअध्यक्ष पदमराज गुरुङको उपस्थितिमा सार्वजनिक गरिएको हो। उक्त गीतको भिडियो गायिका दुर्गा गुरुङ नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

केशबहादुर गुरुङले लेखेको गीतमा भीमकला गुरुङ, टीका गुरुङ, शिशिर गुरुङ र मनाङ गुरुङले सामूहिक आवाजमा साथ दिएका छन् भने तेजेन्द्र गुरुङले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा आनन्द गुरुङ र दीपशिखा गुरुङले अभिनय गरेका छन्। तेजेन्द्र गुरुङ र निर्देशन उमेश गुरुङले गरेका हुन्।

कार्यक्रममा गुरुङ समुदायको संस्कृति जगेर्ना तथा गीत–संगीतमा योगदान पुर्‍याउँदै आएका कलाकार र सर्जकलाई परम्परागत शैलीमा सम्मानसमेत प्रदान गरेको थियो।

तमू कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ, तमू कलाकार संघ नेपालका सल्लाहकार प्रितम गुरुङ, तथा वरिष्ठ गायिका एवं संघकी पूर्व अध्यक्ष शर्मिला गुरुङलगायतका व्यक्तित्वहरू उपस्थित थिए।