कभर स्टोरी

तमू सञ्चारकर्मी संघ बामे सर्दै गर्दा……

गणेशमान गुरूङ, काठमाडौँ । 
तमू अर्थात् गुरूङ कुलमा जन्मिएर देशका विभिन्न स्थानबाट विभिन्न सञ्चार संस्थाहरुमा आवद्ध भई कार्यरत रहेका सञ्चारकर्मीहरु औपचारिकरूपमा एकजुट हुनुपर्छ भन्ने अवधारणाको जन्म भयो। देशभरका तमू सञ्चारकर्मीहरुबीच सङ्गठितरूपमा एकता, भाइचारा र सहकार्य गर्नुपर्छ भन्ने अवधारणाको जन्म तमू धीँ नेपालका वर्तमान अध्यक्ष हुमबहादुर तमूको सक्रियतामा भएको हो।

यो अवधारणाको जन्मदाता भएको नाताले उहाँलाई तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको संस्थापक संयोजकका रुपमा चिनिन्छ। त्यसलगत्तै अर्थात् विक्रम सम्वत २०६५ कार्तिक २३ देखि २४ गतेसम्म तमू धीँ नेपालको प्राङ्गण, पोखरामा तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपालको पहिलो महाधिवेशन सम्पन्न भयो। महाधिवेशनले गणेशमान गुरूङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको थियो।

केन्द्रीय कार्यसमिति :

१) अध्यक्ष– गणेशमान गुरूङ
२) उपाध्यक्ष– डण्डबहादुर गुरूङ
३) महासचिव– रतन गुरूङ
४) सचिव– राजबहादुर गुरूङ
५) कोषाध्यक्ष– मीना गुरूङ
६) सदस्य– मञ्जु गुरूङ
७) सदस्य– राजेश गुरूङ
८) सदस्य– गंगा गुरूङ
९) सदस्य– रीता गुरूङ
१०) सदस्य– शान्ति गुरूङ
११) सदस्य– राम गुरूङ

पहिलो महाधिवेशनले पहिलो कार्यसमिति चयन गरेपश्चात तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल विक्रम सम्वत २०६५ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवतरुपमा दर्ता भयो। संघका तत्कालीन सचिव राजबहादुर गुरूङको पहलमा संस्था दर्ताको काम सम्पन्न भएको हो।

विभिन्न सञ्चारमाध्यममा कार्यरत तमू सञ्चारकर्मीहरुसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै पेशागत क्षमता अभिवृद्धि गर्नुपर्ने नवगठित कार्यसमितिउपर पहिलो जिम्मेवारी आइलागेको थियो। त्यससँगै सामुदायिक हक, अधिकारबारे पनि तमू सञ्चारकर्मीलाई सचेत गराउनुपर्ने अर्को महत्त्वपूर्ण कार्यभार थपिएको थियो। तर, देशभरका तमू सञ्चारकर्मीहरुको अभिलेखिकरण र सम्पर्क बिस्तारबाहेकका अन्य काम भने अपेक्षाकृतरूपमा हुन सकेन। व्यावसायिक विशेषता बोक्ने पत्रकारहरुले सामुदायिक भावनाका साथ चल्नुपर्ने संस्थागत सक्रियताको पहिलो अनुभव सबैका लागि सहज बन्न सकेन।

जसअनुसार सार्वजनिकरूपमा संस्थागत सक्रियता कमजोर देखिएको विषयलाई स्वीकार्नै पर्छ। यद्यपि तमू सञ्चारकर्मी संघको उद्देश्य र कार्यक्रमलाई सफल पार्नुपर्ने चेतनाबोधबाट सबै तमू सञ्चारकर्मीहरु सजग भइरहेको अवस्थाको पनि सिर्जना भएको थियो। तमू सञ्चारकर्मीहरु सङ्गठितरुपमा अघि बढ्नु पर्छ र बलियो सङ्गठन बनाएर काम गर्नुपर्छ भन्ने तर्क र बिचारका कारण यस्तो अवस्थाको सिर्जना भएको हो। त्यसैले संस्थागत कृयाकलापहरुको बखान गर्न लायक फेहरिस्त नभए पनि तमू सञ्चारकर्मीहरु भावनात्मकरुपमा थप सचेत र सजग बनेको अवस्था भने वास्तविक तथ्य हो।

तमू अर्थात् गुरूङ कुलमा जन्मिएर सञ्चार क्षेत्रका विभिन्न विधामा कार्यरत सबै सञ्चारकर्मीहरुले आफ्नो व्यावसायिक कर्मसँगै सामुदायिक कर्तव्य पनि निभाउनुपर्छ भन्ने संघको ठहर हो । गुरूङ समुदायका धार्मिक, सांस्कृतिक, राजनैतिकलगायत सबै पक्षमा कलम चलाउनुपर्ने सम्पूर्ण तमू (गुरूङ) सञ्चारकर्मीहरुको प्रमुख कर्तव्य र दायित्व हो । यसका साथै समुदायलाई आफ्ना हक, अधिकार र कर्तव्यबारे सचेत गराउने कार्यमा पनि सधैँ अग्रपङ्क्तिमा उभिनुपर्छ भन्ने अटल मान्यता हो ।

यसर्थ तमू समुदायका लागि तमू नै हुनुपर्छ, अर्थात् तमू सञ्चारकर्मीले मात्रै गुरूङ समुदायका बारेमा राम्ररी कलम चलाउन सक्छ भन्ने ध्रुवसत्य मान्यता सर्वव्यापीरूपमा स्थापित छ। त्यसैले सम्पूर्ण तमू (गुरूङ) सञ्चारकर्मीहरुले आफ्नो व्यावसायिक पक्षलाई बढाउँदै, तिखार्दैै र निखार्दै लैजानुपर्छ भन्ने तर्कप्रति संघ प्रतिबद्ध छ। सम्पूर्ण तमू सञ्चारकर्मीहरुमा सामुदायिक ज्ञानको भण्डारलाई पूर्णरुपमा भरिभराउ बनाउँदै कार्यगत दक्षता अभिवृद्धि गराउनुपर्ने दोहोरो जिम्मेवारीका बीच तमू (सञ्चारकर्मी संघ) हालसम्म पनि संघर्षरत नै छ।

कुलको ऋण तिर्न सक्ने गरी तथा कुल पितृहरुको आशिर्वादको लायक बन्न सक्ने गरी सबै तमू सञ्चारकर्मीहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने भावनाको विकास गराउनमा संघ दत्तचित्त छ। त्यसैले सबै तमू (गुरुङ) सञ्चारकर्मीहरुले व्यावसायिक पत्रकारिताको धर्म इमान्दारीपूर्वक निभाउँदै सामुदायिक कर्तव्यलाई पनि शिरोपर गर्नुपर्छ भन्ने मान्यतामा तमू (गुरुङ) सञ्चारकर्मी संघ प्रतिबद्ध र अडिग छ।

सञ्चारकर्ममा गणेशमानको योगदान

तमू सञ्चारकर्मी संघको पहिलो महाधिवेशनबाट सर्वसम्मतरुपमा केन्द्रीय अध्यक्ष चुनिनु भएका पत्रकार गणेशमान गुरूङले २०५५ सालदेखि पोखराबाट पत्रकारिता सुरु गर्नुभएको हो। पोखराबाट प्रकाशित हटलाइन राष्ट्रिय दैनिक (संवाददाता), जनजिज्ञासा साप्ताहिक (अतिथी सम्पादक), मीना मासिक बाल प्रकाशन (अतिथी सम्पादक), सामुदायिक रेडियो हिमचुली एफएम (कार्यक्रम निर्माता/प्रस्तोता/संवाददाता), गोल्डेन आइ टेलिभिजन (कार्यक्रम प्रस्तोता/सम्वाददाता) जस्ता छापा, रेडियो र टेलिभिजन माध्यममा आवद्ध भई सञ्चारकर्मको अनुभव संगालिसक्नु भएको छ।

यस क्रममा भद्रकाली माध्यमिक विद्यालय पोखराका प्रधानाध्यापक एवम् वौद्धिक व्यक्तित्व स्वर्गीय लोकबहादुर गुरूङले प्रकाशन गर्नुभएको ‘तमू संसार मासिक पत्रिका’को पहिलो अङ्कमा पनि सम्पादन तथा सामाग्री संयोजन कार्यमा सघाउनु भएको थियो। शैक्षिक क्षेत्रमा उच्च ख्याती कमाउनु भएका स्वर्गीय लोकबहादुर गुरूङलाई अवकाशपछि पत्रकारिता क्षेत्रमा आउन पत्रकार गणेशमान गुरूङको योगदानले थप बल मिलेको थियो।

पोखरामा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार गुरूङको कर्मक्षेत्र २०६४ सालबाट फेरियो। त्यसयता काठमाडौंस्थित सगरमाथा टेलिभिजनको स्थापना भएपश्चात हालसम्म सम्वाददाता, कार्यक्रम निर्माता, प्रस्तोता हुँदै विगत १० वर्षदेखि समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ। निरन्तररुपमा पत्रकारिता क्षेत्रमा लागिरहनुभएका उहाँले २०५८ सालमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्नुभएको हो भने नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्कीको संस्थापक सचिव हुँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सदस्यसमेत रहिसक्नु भएको छ।

सञ्चारकर्मसँगै सांस्कृतिक क्षेत्रमा पनि विशेष दख्खल राख्नुहुने पत्रकार गुरुङ तरेली सांस्कृतिक परिवार पोखराको संस्थापक अध्यक्ष हुनुहुन्छ भने तमू प्ये ल्हु संघ केन्द्रीय समिति पोखराको सानिध्यमा गठन भएरपछि आफ्नो स्वतन्त्र अस्तित्व बनाउन सफल तमू युवा सांस्कृतिक परिवार पोखराको संस्थापक सचिवको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ। 