- तुलमान गुरुङ,
लमजुङ । फूलबहादुर गुरूङको बायाँ आँखामा समस्या देखिएको करिब सात वर्ष भइसकेको थियो। पोखरा गएर आँखाको उपचार सुरू गर्दागर्दै नेपालमा कोरोना महामारी सुरू भयो। बन्दाबन्दी (लकडाउन) भयो। केही खुकुलो भएपछि उनी भुजुङबाटै गाडी ‘रिजर्ब’ गरेर पोखरा पुगे। पोखरा पुगे पनि होटलमा सहज बास पाइन्थेन। बल्लतल्ल होटल पाउँदा महँगो खर्च तिर्नुपथ्यो।
गाउँबाटै गाडी लिएर पोखरा जाँदा–आउँदा, खाँदा, बस्दा, उपचार गर्दासम्म करिब एक लाख ८० हजार रूपैयाँ खर्च भइसकेको थियो। तर, उपचार पूरा भएन। गाउँघरमा खेतीपाती, बस्तुभाउ, खर्क भकारो आदिले उनलाई फेरि आँखा उपचारमा निस्कने वातावरण नै बनेन। गत वर्ष पनि उनले पोखरा जाने योजना बनाए। तर, घरगाउँकै कामले उनको उपचार झनै पछाडि धकेलियो। कहिले समय मिल्ला र पोखरा गएर उपचार गरौँला भन्दाभन्दै करिब ६ वर्षपछि उनले गाउँमै उपचार पाए। त्यो पनि निःशुल्क।
६४ वर्षीय दरवी गुरूङले पनि आँखा नदेखेको करिब पाँच वर्ष पुगिसकेको थियो। समस्या थाह पाएपछि उनले उपचार गर्न नचाहेको पनि होइन। तर, गाडीमा यात्रा गर्न नसकिने भएको हुँदा उनी समस्यासँग जुधेरै बसिरहेकी थिइन्। गाडी चढ्दा बान्ता हुने समस्याले गर्दा उपचार नै नगरेकी उनले यसपटक गाडी चढ्नै नपर्ने गरी सुविधा पाइन्। गाउँकै स्वास्थ्यचौकीमा आएको तीनदिने निःशुल्क आँखा शिविरबाट आफ्नो धमिलो भएको आँखा झलमल्ल बनाउन सफल भइन्।

मर्स्याङ्दी गाउँपालिका वडा नं–१, नायूका बलबहादुर गुरूङ पनि तीन वर्षदेखि आँखा नदेख्ने समस्यामा थिए। एउटा आँखाको शल्यक्रिया गरिसकेका उनको अर्को आँखामा पनि समस्या देखिएपछि पोखरा जान हत्तपत्त समय मिल्थेन। जिल्लाको सदरमुकाम बेँसीसहरमा राम्रो सुविधा नभएको हुँदा भरतपुर या पोखरा उनको लागि उपचारको गन्तव्य थियो।
समस्या सहेरै बसिरहेका उनी गाउँमै उपचार पाएपछि असाध्यै खुसी भए। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो सुविधाले जिन्दगी नै परिवर्तन भएको उनी सम्झिन्छन्। ‘धेरथोर पैसा हुने मान्छेले समय निकालेर अस्पताल पुग्न पनि सक्छन्। तर, सामान्य अवस्थाको मान्छेलाई यो सेवाले निःशुल्करुपमा जीवन दिएको छ’, उनी भन्छन्। ग्रामीण परिवेशमा यो खालको सुविधा बेला–बेला आयोजना भइरहनुपर्ने उनले बताए।
८३ वर्षीया मिलकुमारी गुरूङ पनि दैलैमा उपचार पाएपछि फुरूङ्ग छिन्१ आँखा दिनानुदिन मधुरो हुँदै गएपछि उनको दैनिकी असहज बन्दै गएको थियो। गाउँमै शिविर आएपछि उनको आँखा फेरि एकपटक तरूनो भएको छ। ‘बुढेसकालमा दैलैमा उपचार पाएपछि छर्लङ्ग भयो’, उनी भन्छिन्, ‘आँखाको उपचार त पाएँ, अब दाँत हाल्न मन छ।’

यही कात्तिक १८ देखि २० गतेसम्म भुजुङ स्वास्थ्यचौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर आएपछि ६५८ जनाको आँखा परीक्षण हुँदा ७८ जनाको आँखामा मोतियाविन्दु देखिएपछि गाउँमै शल्यक्रिया गरिएको थियो। क्व्होलासोँथार गाउँपालिकाको वडा नं–१ को बागलुङपानी, वडा नं–२ को मालिङ, वडा नं–३ को घलेगाउँ र वडा नं–४ को भुजुङवासीले सुविधा पाएका छन्। यस्तै, मर्स्याङ्दी गाउँपालिकाको वडा नं–१, घनपोखरा र नायूका नागरिकले सुविधा पाएका छन्।
हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। इन्द्रमान महर्जन र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काडमाडौँका पूर्वकार्यकारी तथा मेडिकल डाइरेक्टर एवम् वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। कमलबहादुर खड्का नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो। शिविरमा मनोज एसोसिएसन फ्रान्सका प्रतिनिधिहरु नथाइले र पास्कलले पनि बिरामीको स्वास्थ्य परीक्षण गराएका थिए।
मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सको संयोजन, हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा भुजुङ स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो। शिविरको व्यवस्थापनमा स्थानीय स्वास्थ्यचौकीसँगै क्व्होलासोँथार गाउँपालिका र रोटरी क्लब हिमालयन गल्फर्सको सहयोग रहेको थियो।

बिरामी र उनका आफन्तलाई एक रात खाने र बस्ने व्यवस्थामा भने स्थानीयले सघाएका थिए। आँखा परीक्षणपछि शल्यक्रिया गर्न नपर्ने ३५८ जना बिरामीलाई भने आवश्यकता हेरी चस्मा र औषधिसमेत निःशुल्क प्रदान गरिएको थियो। यसअघि कात्तिक १६ गते मालिङ स्वास्थ्यचौकी र नायू स्वास्थ्यचौकीमा आँखा परीक्षण गरिएको थियो। उक्त शिविरमा भएको परीक्षणबाट मोतियाविन्दु देखिएका बिरामीलाई पनि भुजुङ स्वास्थ्यचौकीमा भएको शिविरमा शल्यक्रिया गरिएको थियो। उनीहरुलाई क्व्होलासोँथार गाउँपालिकाले यातायातको व्यवस्था मिलाएको थियो।
ग्रामीण क्षेत्रमा लामो समयदेखि आँखामा समस्या देखिए पनि सहेर बस्ने गरेको थाह पाएपछि यसपटकको शिविर भुजुङमा आयोजना गरिएको मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरूङले बताए। पर्यटन व्यवसायमा लामो समयदेखि अनुभव सँगालेका अध्यक्ष गुरूङले पदयात्राकै क्रममा समस्या थाह पाएपछि भुजुङ गाउँमा पनि आँखा शिविरको आवश्यकता ठानेका थिए।
क्व्होलासोँथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोक गुरूङका अनुसार गाउँपालिकाभित्र बेलामौकामा स्वास्थ्य शिविर सञ्चालनमा आए पनि शल्यक्रियासहितको शिविर पहिलोपटक आयोजना भएको हो। यसबाट आँखा परीक्षणपछि समस्या पत्ता लागेका बिरामीले चितवन, पोखराजस्ता टाढाको दूरी धाउनुपर्ने बाध्यता हटेको उनले बताए।

क्व्होलासोँथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले विकट क्षेत्रमा यस्ता खालका शिविर हरेक वर्ष आवश्यक पर्ने बताए। गाउँपालिकासँग सीमित स्रोतसाधनमा काम गर्नुपर्दा स्वास्थ्य क्षेत्रलाई पालिकाको नीति तथा कार्यक्रममा समेटिए पनि पर्याप्त हुन नसक्दा यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने उनले बताए।
उपाध्यक्ष गमीमाया गुरूङले पालिकाभित्र अहिलेसम्मकै ठूलो आँखा शिविर सम्पन्न भएको बताइन्। थोरै समयमा धेरै किसिमको स्वास्थ्य परीक्षण गर्ने शिविर हुने गरे पनि गाउँमै शतप्रतिशत उपचार हुने शिविर आउँदा यो शिविर शतप्रतिशत फलदायी भएको उनले बताइन्।
‘अब गाउँमा महिलाहरुको पाठेघरसम्बन्धी समस्या देखिएको छ। दन्त शिविर पनि आवश्यक छ’, उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाहरुसँग हामी त्यसतर्फ ध्यान केन्द्रित गराउन चाहन्छौँ। गाउँपालिका आवश्यकताअनुसार सहयोग र समन्वय गर्न तयार छ।’








