गुरुङ विशेष

मौलिकताको खोजीमा तमू ह्यु छोँज धीँ

भाषा संरक्षणको लागि लिपिको प्रशिक्षक प्रशिक्षण गरिँदै

तुलमान गुरूङ । 
भरतपुर । गुरूङहरुले आफ्ना पुरानो ठाउँको मौलिकाता खोज्ने काम थालेको छ। गुरूङ जातिको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले गुरूङ जातिको मौलिका भाषा हराउँदै जाँदा स्थान विशेष नामसेमत हराउँदै गएको भन्दै यसतर्फ सचेत हुँदै ती नामहरुलाई पुनर्स्थापित गराउने प्रयास थालिएको बताएको छ।

ह्युल छोँज धीँ चितवनको अधिवेशनको लागि चितवन आएका केन्द्रीय अध्यक्ष धनमान गुरूङले उदाहरण दिँदै भने, ‘ मेरै नाममा धनमान भन्नुपर्नेमा कसैले हनुमान भनिदियो भने मलाई रिस उठ्छ। हाम्रो ठाउँको नाम बिगारिसक्दा पनि हामी चुप लागेर बस्नु हुँदैन । हाम्रो थाकथलोको नाम बिग्रियो। यसमा हामी चिन्तित छौँ। त्यसैले हामीले सम्बन्धित स्थानका सरकारलाई पनि यस विषयमा दबाब दिनु पनि आवश्यक देखिएको छ। ’

गण्डकी प्रदेशमा कास्की जिल्लाको मादी गाउँपालिकाले यस विषयमा काम सुरु गरेको बताउँदै गुरूङ गाउँको पुरानो नाम फर्काउन त्यहीँका स्थानीयबाट पनि साथ, सहयोग आवश्यक पर्ने हुँदा त्यस्तो काममा सम्बन्धित क्षेत्रका सबैले सहयोग गरिदिन उनले आग्रह गरे। संरक्षण अभावमा गुरूङ भाषामा रहेका गाउँ/ठाउँका नामसेत नेपालीकरण भइसकेको हुँदा यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनले बताए।

त्यसबाहेक ह्युल छोँज धीँ केन्द्रीय समितिले गुरूङ जातिले अपनाउँदै आएको करिब ३५ वटा अमूर्त संस्कृतिको संरक्षण गर्ने प्रयास गरिएको उनको भनाइ छ। गुरूङ जातिभित्रको थर खोजेर सरकारलाई बुझाउने प्रयास गरिरहेको पनि उनले बताए। ‘हामीले खोजी गर्दा गुरूङ जातिभित्र १७८ थर फेला पारेका छौँ। तर, त्यसमा केही थरहरु ठाउँअनुसार फरक तरिकाले उच्चारण गर्ने गरेको हुँदा त्यसलाई एकरुपतामा ल्याएर सरकारलाई बुझाउने प्रयास भइरहेको छ,’ उनले भने।

भाषाको विषयमा २०३५ सालमै तयार भएको लिपिलाई तमू ह्युल छोँज धीँले पारित गरिसकेकोले त्यसैको कार्यान्वयनको लागि गण्डकी प्रदेश सरकारसँग बार्ता र सम्वाद भइरहेको उनले बताए। ‘हाम्रो लिपि (खेमा लिपि) अन्तर्राष्ट्रियकरण भइसकेको छ। तर, केही समस्या समाधान गर्नुपर्ने काम बाँकी रहेको हुँदा भाषा आयोगमा दर्ता गर्नमात्रै बाँकी छ,’ उनले भने, ‘अब लिपिलाई कार्यान्वयनमा ल्याउनको लागि भाषा आयोगमा दर्ता गर्ने र गण्डकी प्रदेशमा लिपिको प्रशिक्षक प्रशिक्षण गर्नुपर्ने तयारीमा हामी जुटेका छौँ। जतिसक्दो चाँडो काम गर्ने प्रयास गरिरहेका छौँ।’

त्यसको लागि अहिले शब्दावली निर्माणको काम भइरहेको उनले बताए। यति नगरेसम्म गण्डकीमा तमू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिए पनि कार्यान्वयनमा ल्याउन समस्या पर्ने उनले बताए।

ह्युल छोँज धीँका महासचिव राजु गुरूङले पनि लिपिबिनाको कानुन आयो भने काम गर्न नसक्ने हुँदा त्यसलाई यथाशक्य चाँडै काम सकाउनुपर्ने दबाब केन्द्रीय समितिलाई रहेको बताए। ‘संविधानले सामाजिक न्याय र भाषाजस्ता विषयलाई समेटेको छ। तर, त्यसलाई व्यवहारमा उतार्ने काममा हामी तमूहरु नै जुर्मुराउनु पर्छ,’ उनले भने, ‘तसर्थ गण्डकीमा सरकारसँग हाम्रो प्रयास निरन्तर चलिरहेको छ।’

चितवन जिल्लामा अक्षयकोष स्थापना 
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनलाई जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष एवम् समाजिक व्यक्तित्व कृष्णबहादुर गुरूङले अक्षयकोष स्थापना गरिदिएका छन्। पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रका क्रममा उनले आफ्ना ज्वाइँ विक्रमध्वज गुरूङको स्मृतिमा तत्काल एक लाख राशिको अक्षयकोष स्थापना गरिदिएका हुन्।

संस्था सञ्चालनमा सामान्य रकमसमेत नहुँदा समस्यामा पर्ने गरेको अनुभव सुनाउँदै उनले भने, ‘म यसलाई कम्तिमा पनि दश लाख रुपैयाँ पुर्‍याउँछु।’ भरतपुर–१० शिवमन्दिर टोल निवासी गुरूङ विभिन्न खालका व्यवसायमा आवद्ध छन्। उनका बहिनीज्वाइँ विक्रमध्वज गुरूङको वेलायतमा हृदयघातका कारण निधन भएको थियो।

ह्युल छोँज धीँ चितवनको अधिवेशन जारी छ। आज (आइतबार) आगामी तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन हुँदैछ।