- शिवकुमार गुरुङ
लन्डन । ११ अक्टोबर २०२५ शनिबारका दिन लन्डनस्थित वेम्बली बार्हम पार्कमा रहेको तमू समाज यूकेको सामुदायिक भवन उल्लास र गौरवको वातावरणले भरिएको थियो । समाजले आफ्नो नेपाली भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरूसँग मिलेर विजयादशमी ९दशैं० विशेष समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो।
कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित यस कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपाली मूलका बालबालिकाबीच नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। ४० हप्ते निःशुल्क नेपाली भाषा कक्षाको माध्यमबाट यो पहल अघि बढाइएको हो।
कार्यक्रमको अवसरमा बालबालिकाहरूलाई विजयादशमी (दशैं) पर्वको सांस्कृतिक तथा धार्मिक महत्वबारे जानकारी गराइयो। साथै उनीहरूले विभिन्न परिकारका परम्परागत नेपाली भोजन र पेयपदार्थहरूको स्वाद लिँदै रमाइलो गरे। कार्यक्रममा अभिभावक, शिक्षक तथा समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिताले उत्सवलाई अझै जीवन्त र हर्षोल्लासमय बनायो।
भाषा र संस्कृतिको संरक्षणप्रति प्रतिबद्धता–
कम्युनिटि लटरि फण्ड द्वारा प्रायोजन गरिएको नेपाली भाषा कक्षा २२ मार्च २०२५ मा सुरु गरिएको हो र लगातार आठ महिनादेखि सञ्चालन हुँदै आएको छ। यस कार्यक्रमले बालबालिकालाई नेपाली बोल्ने, पढ्ने र लेख्ने सीप सिकाउने मात्र होइन, आफ्नै संस्कृति र पहिचानप्रतिको गर्व पनि जागृत गराएको छ।
ब्रेन्ट, इलिङ र ह्यारो नगरका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरू सहभागी रहेका यी कक्षाहरूमा योग्य नेपाली शिक्षकहरूले रमाइलो र अन्तरक्रियात्मक शैलीमा अध्यापन गर्दै आएका छन्।
तेस्रो वर्षमा प्रवेश गरेको यो पहलले बेलायतमा जन्मेका तथा हुर्केका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिसँग पुनःजोड्ने सेतुको रूपमा काम गरिरहेको छ।
आभार र कृतज्ञता–
तमू समाज यूकेले कम्युनिटी लटरी फन्डप्रति हार्दिक आभार व्यक्त गर्दै यसको निरन्तर सहयोगले कार्यक्रमलाई प्राप्त भएको अमूल्य योगदानको प्रशंसा गरेको छ। उक्त सहयोगले थप शिक्षकहरूको नियुक्ति, शैक्षिक सामग्रीको व्यवस्था र सहज अध्ययन वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ।
विशेष धन्यवाद संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङलाई आर्थिक समन्वय र नेतृत्वका लागि, श्री बिवेक के।सी।, श्रीमती मनिषा गौतम र श्रीमती कल्पना थापालाई बालबालिकाप्रतिको समर्पण र उत्कृष्ट शिक्षण योगदानका लागि, साथै श्री अर्बिन्द्र श्रेष्ठलाई संयोजन र अभिभावकहरूसँगको प्रभावकारी समन्वयका लागि व्यक्त गरिएको थियो।
त्यसैगरी, तमू समाज यूकेकी वर्तमान अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेलाई सामुदायिक भवन उपलब्ध गराएको र निरन्तर सहयोगका लागि पनि विशेष धन्यवाद दिइएको थियो।
विजयादशमी विशेष समारोहमा अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, युवा सदस्य सुश्री सुबिना घले, संयोजक श्री अर्बिन्द्र श्रेष्ठ तथा शिक्षकहरू बिवेक के।सी।, मनिषा गौतम र कल्पना थापाको उपस्थिति रहेको थियो ।
सो अवसरमा अध्यक्ष घलेले विद्यार्थीहरूलाई दशैंको शुभकामना र उपहार प्रदान गर्दै निरन्तर प्रगति र खुशीको कामना गर्नुभयो।
कार्यक्रममा जानकारी दिइयो कि कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित नेपाली भाषा कक्षा २०२५ डिसेम्बरसम्म निरन्तर सञ्चालन हुनेछ, र त्यसपछि पनि तमू समाज यूकेको पहलमा निरन्तरता दिने प्रतिबद्धता गरिएको छ।
अभिभावकहरूलाई आफ्ना सन्तानहरूलाई नेपाली भाषा सिक्न, बोल्न र अभ्यास गर्न निरन्तर प्रोत्साहन गर्न आग्रह गरिएको थियो।
कार्यक्रम बिहान ११ः३० बजे सुरु भई दिउँसो २ बजे हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । पेयपदार्थ र दिवाभोजको व्यवस्था तमू समाज यूकेद्वारा गरिएको थियो।