ब्यानर

भाटभटेनीमाथि भएको आक्रमणप्रति टेकानेटद्वारा चिन्ता व्यक्त

काठमाडौँ । तमू (गुरुङ) शैक्षिक तथा व्यावसायिक उन्नयन सञ्जाल (टेकानेट)ले आन्दोलनको नाममा भदौ २४ गते नेपालकै ठूला खुद्रा व्यावसायिक चेन भाटभटेनी सुपरमार्केटमा गरिएको अभूतपूर्व तोडफोड र त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सञ्जालले विज्ञप्ति जारी गर्दै युवा पुस्ताको आन्दोलनमा अन्य व्यक्तिहरूको घुसपैठका कारण भाटभटेनीमाथि ठूलो आक्रमण भएको बताएको हो। यो घटनाप्रति सञ्जालले दुःख व्यक्त गर्नुका साथै आपत्ति जनाएको छ।

भाटभटेनीमाथि बारम्बार आन्दोलन र असन्तुष्टिहरूको निशाना बन्नु दुःखद् भएको उल्लेख गरेको छ। हाल बेरोजगारी र पुँजी पलायन बढ्दो अवस्थामा भाटभटेनीले देशभर २२ हजार युवालाई रोजगारी दिनुका साथै स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको जनाइएको छ।

भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले गुरुङ समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि उल्लेख्य योगदान गर्दै आएको भन्दै विज्ञप्तिमा उनको सेवाको प्रशंसा गरिएको छ। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ७२ शय्याको आकस्मिक कक्ष निर्माणदेखि ग्रामीण भेगका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।

२७ वटा शाखामार्फत आधुनिक सुपरमार्केटको अवधारणा नेपालभर विस्तार गरेको भाटभटेनीले निरन्तर सेवा दिँदै आएको पनि स्मरण गरिएको छ।

टेकानेटका अध्यक्ष डा हुम गरूङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्, सिंहदरबार, सर्वोच्च अदालत, सञ्चारगृहदेखि भाटभटेनीसम्म सार्वजनिक सम्पत्तिमाथि भएको विनाशकारी तोडफोडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होस् भन्ने हाम्रो जोडदार माग छ।’

गत २० वर्षदेखि गुरुङ युवाको शैक्षिक तथा पेशागत मार्गदर्शन गर्दै आएको टेकेनेटले भविष्यमा पनि यस्ता घटनाविरुद्ध सशक्त आवाज उठाइरहने जनाएको छ।