ब्यानर

भाटभटेनीमा गरिएको आगजनीप्रति तमू बौद्ध सेवा समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं । तमू बौद्ध सेवा समिति नेपालले नयाँ पुस्ताको नाममा भाटभटेनी सुपरमार्केटमा गरिएको आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले जारी गरेको विज्ञप्तिमा नयाँ पुस्ताद्वारा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा वास्तविक प्रदर्शनकारीको आडमा भएका घुसपैठका कारण भाटभटेनी सुपरमार्केटमा अकल्पनीय आगजनी र धनजनको क्षति भएको घटनाले सम्पूर्ण गुरुङ समाजलाई गम्भीररूपमा दुःखी बनाएको उल्लेख गरिएको छ।

समितिले भाटभटेनी पटकपटक आन्दोलनको तारो बन्नु चिन्ताजनक रहेको उल्लेख गरेको छ। समाजले भाटभटेनी सुपरमार्केटले देशमा बढ्दो बेरोजगारीबीच २२ हजार युवायुवतीलाई रोजगारी उपलब्ध गराउँदै आएको, स्थानीय अर्थतन्त्रलाई सघाएको र उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराएको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ।

संस्थापक मीनबहादुर गुरुङको सामाजिक उत्तरदायित्वका उदाहरण उल्लेख गर्दै समितिका अध्यक्ष क्याप्टेन नारायणबहादुर गुरूङद्वारा जारी विज्ञप्तिमा त्रिवि शिक्षण अस्पतालमा ७२ शय्याको आपतकालीन वार्ड निर्माण तथा दूरदराजका विद्यार्थीका लागि चिकित्सा शिक्षामा छात्रवृत्ति प्रदान जस्ता कामलाई विशेष योगदानका रूपमा प्रस्तुत गरिएको छ।

समितिले देशका विभिन्न सहरमा सञ्चालित २७ आउटलेटमार्फत आधुनिक सुपरमार्केट अवधारणालाई स्थापित गर्न सफल भाटभटेनी राष्ट्रकै गौरव भएको भन्दै यसप्रति पटकपटक हुने आक्रमणलाई दुर्भाग्यपूर्ण भनेको छ।

त्यसैगरी संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत राष्ट्रिय सम्पत्तिमा भएको आगजनी घटनाबारे छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ।

कोने-घोन्डे परिवारद्वारा दुःख व्यक्त 

भाटभटेनी सुपरमार्केटमा आगजनी भएको घटनाप्रति क्वोने घोताने–घोन्डे गुरुङ परिवार युकेले गहिरो दुःख प्रकट गरेको छ। परिवारका महासचिव ईन्द्र घोतानेले जारी गरेको वक्तव्यमा सुपरमार्केटका संस्थापक व्यवसायी मिनबहादुर गुरुङलाई दृढ रहन र कहिल्यै हिम्मत नहार्न आग्रह गरिएको छ।

वक्तव्यमा भनिएको छ, “सानो लगानीबाट सुरु गरेर हजारौँ नेपालीलाई रोजगारी दिने संस्थामा परिणत भएको भाटभटेनी खरानीमा परिणत भएको देख्दा मन दुखेको छ। यसले हजारौँ कर्मचारी र उनीहरूको परिवारलाई ठूलो संकटमा पारेको छ।”

साथै, गुरुङ साधारण परिवारबाट उठेर सफल व्यवसायी बनेको उल्लेख गर्दै उहाँको मेहनत, लगनशीलता र इमानदार छवि नेपालभरका नेपालीका लागि प्रेरणादायी भएको जनाइएको छ। संस्थाले भाटभटेनी जलाउने कार्यलाई कुनै हालतमा पनि क्षम्य नहुने बताउँदै पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गरेको छ।