काठमाडौँ । खोटाङ गुरुङ युवा समाज, काठमाडौंको आयोजनामा पहिलो राष्ट्रिय तमू भेडा फुटबल प्रतियोगिता हुने भएको छ। आउँदो असोज ३ गतेदेखि ६ गतेसम्म प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।
खोटाङ जिल्लाबाट अध्ययन तथा रोजगारी, व्यवसायका लागि काठमाडौँ आएर बसेका गुरुङहरूको साझा संस्थाको रुपमा स्थापित समाजले सञ्चालन गर्ने प्रतियोगितामा दर्ता शुल्क ९ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यसको लागि भदौ २७ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।
काठमाडौं उपत्यका वा विभिन्न जिल्लामा रहेका गुरुङ संस्थाहरूले सहभागीता जनाउन सक्ने छन्। खेलाडीहरु सबै गुरुङ नै हुनुपर्ने व्यवस्था गरिएको छ। हालसम्म २० वटाभन्दा बढी संस्था सम्पर्कमा आइसकेका प्रतियोगिताका संयोजक रुपनकाजी गुरुङले जानकारी दिए।
काठमाडौँको कपनस्थित ह्याण्ड बल ग्राउण्ड आकाशेधारामा हुने प्रतियोगिताले खेलकुदको विकाससँगै सामाजिक एकता र सद्भावका साथै पूर्व–पश्चिमका गुरूङहरुबीचको चिनजानी र राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतियोगितामा पहिलो हुने समूहले नगद एक लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र, कप र खोटाङबाटै ल्याइएको सिङ घुमेको ठूलो भेडा साँड प्राप्त गर्नेछ। दोस्रो हुने समूहले नगद ५० हजार र तेस्रो हुने समूहले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको खोटाङ गुरुङ युवा समूहका अध्यक्ष संगीत गुरुङले जानकारी दिए।