गुरुङ विशेष

तमू बौद्ध सेवा समितिको ३६औं स्थापना दिवस :  धर्मकर्मसँगै गुम्बा निर्माणको अभियान

काठमाडौं : तमू बौद्ध सेवा समितिले आफ्नो ३६औं स्थापना दिवस भब्यताकासाथ मनाइरहेको छ । यस अवसरमा काठमाडौंको अनामनगरस्थित समितिको कार्यालय भवनमा तीन दिने विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

पहिलो दिनको कार्यक्रम अनुसार आइतबार समितिको गुम्बामा बुम अर्थात ह्युमपती अर्थात सतसहस्रिका प्रज्ञापारमिता पाठ गरिएको छ ।  बौद्ध धर्म शास्त्र त्रिपिटक अन्तर्गतको शुन्यतामा आधारित गंभीर दर्शन नै प्रज्ञापारमिता हो । काठमाडौंको बुढानिलकण्ठस्थित नागी गुम्बाका ३१ जना आनीहरुले संयुक्त रुपमा प्रज्ञापारमिता पाठ गरे । त्यसैगरी धर्मगुरुमा जेचुन साङ्ग्ये खाण्डो रिम्पोछेले प्रज्ञापारमिताका बारेमा प्रवचन दिनुभयो ।

धर्म गुरुमा खाण्डो रिम्पोछे, बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका संस्थापक अध्यक्ष, संरक्षक तथा सल्लाहकारका साथै टाशी छिरिङमाको निर्माणकाय (टुल्कु) हुनुहुन्छ । त्यसैगरी दोस्रो दिन च्योई पूजा अर्थात छ्योक्ले माचिक डोल्माको पूजा गरिँदैछ । गणचत्र पूजा समेत भनिने यो अनुष्ठानमा विश्वशान्तिको कामना गर्दै सम्पूर्ण भक्तजनहरुको ग्रहशान्ति गरिन्छ । यो पूजामा सहभागी हुँदा रोग, रिस, लोभ र द्वेषबाट मुक्त हुन सकिने धार्मिक मान्यता रहेको छ ।

यसका साथै तेस्रो दिन तमू बौद्ध सेवा समितिको ३६औं स्थापना दिवसको औपचारिक कार्यक्रमको आयोजना गरिने समितिका उपाध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार र सोमबार आयोजित धार्मिक अनुष्ठानबाट संकलित दान द्रब्यबाट दोस्रो गुम्बाको निर्माण गरिने छ । समितिको माथिल्लो तल्लामा रहेको हलमा करिब ३५ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको गुम्बाका लागि अर्थ संकलनको क्रम चलिरहेको छ ।

सामाजिक तथा धार्मिक संस्थाका रुपमा परिचित तमू बौद्ध सेवा समितिले बढ्दो धार्मिक कार्यक्रमहरुको चापलाई व्यवस्थापन गर्न हाल उपलब्ध गुम्बाका अलावा दोस्रो गुम्बा निर्माण गर्न लागेको समितिका अध्यक्ष क्याप्टेन नारायणबहादुर गुरुङले जानकारी दिनुभयो ।