! Без рубрики

तीन दशकमा प्रितमका ५०औँ चलचित्र, बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन

गुरुङन्यूज
एकातिर लाहुरे संस्कृति र बसाइँ–सराइले गाउँघर रित्तिँदै गएको छ । अर्कोतिर संस्कृति संरक्षणको कुरा टड्कारो रूपमा उठ्दै आएको छ । बसाइँ–सराइ, ग्लोबलाइजेशन र संस्कृति संरक्षणबिच तादाम्यता कसरी मिल्छ होला ? गुरुङ चलचित्रकर्मी प्रितम गुरुङको पछिल्लो चलचित्र ‘मुख्या’को कथावस्तुको सार हो यो ।
दुई वर्षअघि प्रितम गुरुङ चलचित्र ‘रीपा’ प्रदर्शन गर्न बेलायत गएका थिए । सो क्रममा उनले बेलायतमा रहेका सबैजसो गुरुङ अगुवाहरूसँग साझा एउटै चासो र चिन्ता रहेको पाए । त्यो थियो, ‘संस्कृति कसरी जोगाउने ?’ रोजीरोटी र सुन्दर भविश्य तथा सपनाको खोजी गर्दै उनीहरू बेलायत पुगेका छन् । यता गाउँ वृद्धालयमा परिणत हुँदैछ ।
११ जुलाईमा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा रेडकार्पेट प्रिमियर गरेर औपचारिक रूपमा प्रदर्शन सुरु गरिएको चलचित्र मुख्याले संयुक्त अधिराज्यको स्कटल्याण्डमा आयोजित नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५ मा उत्कृष्ठ निर्देशक पुरस्कार पनि हात पारेको छ । मुख्या बेलायतको अल्डरसट, रिडिङ र स्कटल्याण्डमा प्रदर्शनपछि स्वदेशमा काठमाडौँको गोंगबुस्थित इन्फिनिटी मुभिजमा भदौ १३, १४ र १५ गते प्रदर्शन हुँदैछ ।
प्रितमले इन्फिनिटी मुभिजमै दुई वर्षअघि रीपा प्रदर्शन गरेका थिए । गुरुङ चलचित्रकर्मीहरूले घरघरमै पुगेर टिकट बिक्री गर्दै प्रोजेक्टरमार्फत पार्टी प्यालेसमा देखाउँदै आएको फिल्मलाई हलमै प्रदर्शन गर्ने चलनको सुरुवात रीपाबाटै भएको थियो भन्दा अत्युक्ति नहोला । अहिले उनले फेरि नयाँ प्रयोग गरेका छन् । विभिन्न सङ्घ–संस्थामा चलचित्र हेर्न आइदिनुहोस् है भन्दै चिठी त पठाएका छन् तर टिकट बिक्री गर्दै घर चाहार्न छाडेका छन् ।
रोधीं परिवारले २०५२ सालमा निर्माण गरेको पातें पहिलो गुरुङ चलचित्र हो । पातेंमा निर्माण, लेखन तथा अभिनयसँगै चलचित्र कर्ममा जोडिएका प्रितम गुरुङको ‘मुख्या’ ५०औँ चलचित्र हो । सिने यात्राको तीन दशक अनि चलचित्र निर्माण, निर्देशन तथा अभिनयको ५०औँ चलचित्र भएकाले पनि मुख्याले उनको जीवनमा विशेष अर्थ र महत्व राख्छ ।
त्यसो त बेलायतमा प्रिमियर हुनु, स्टकल्याण्डमा पुरस्कृत हुनु आफैँमा गर्व गर्न लायक विषय हो । रेड कार्पेटमा भव्य स्वागत, अनुभव आदानप्रदानको अवसर । चलचित्र यात्राको तीन दशकमा के कमाइयो त ? प्रितमले पटक–पटक फेस गर्ने प्रश्न हो यो । पैसा त जति कमाए, उति नै खन्याए । अहिलेसम्म नाफा कमाएर घरघडेरी जोडेको भन्ने छैन । डुबेर बर्बाद पनि भएका छैनन् । घरपरिवारको साथ छ । त्यसैले अघि बढ्न पाएका छन् । समुदायमा जुन मान, सम्मान पाएका छन्, त्यो चाहिँ अविश्मरणीय रहेको छ ।


प्रितमले अहिलेसम्म दर्जनौँ नायक, नायिका तथा कलाकार जन्माए । उनका चलचित्रमा निर्माताहरू दोहोरिएका छन् । २०७३ सालसम्म आइपुग्दा प्रितमले निर्माण, निर्देशन वा अभिनय गरेका चलचित्रको सङ्ख्या ४० पुगेको रहेछ । त्यसअघिसम्म त उनले ५० को अङ्क खासै याद गरेका थिएनन् । तर ४० पुगेपछि १० त कसो नगरिएला भन्ने ठानेरै यात्रा अघि बढाए । अन्ततः उनी ५० पु-याउन सफल पनि भए ।
एउटै व्यक्तिबाट ५० वटा चलचित्र । यो दुर्लभ रेकर्ड हो । नेपालका आदिवासी जनजाति समुदायमा एउटै समुदायबाट ५० वटा चलचित्र निर्माण भएको रेकर्ड नै सायदै होला । नेपाली मूलधारमा पनि ५० वटा चलचित्र गर्ने कोही पनि छैनन् । एकपछि अर्को चलचित्र निर्माण । निर्माता पाउन सहज छैन । तर प्रितम गुरुङ कसरी अपवाद बनिरहेका छन् त ?
गुरुङ चलचित्रको बजार भनेको डायस्पोरामा मुख्यगरी हङकङ र बेलायत हो । जापानलगायतका अन्य मुलुक आक्कल–झुक्कल मात्र हुन् । नेपालमा काठमाडौँ, पोखरा, चितवन, दमौली आदि हुन् । यस हिसाबले एउटा चलचित्र निर्माणमा १० देखि २० लाखसम्म लगानी गर्दा लगानी सुरक्षित हुन सक्छ । यो कुरा प्रितमले राम्ररी बुझेका छन् । त्यसैले उनले चलचित्र निर्माण तथा निर्देशन गर्दा लागत उच्च हुँदैन ।
तर सधैँ यसरी हुँदैन । प्रितमले यो कुरा राम्ररी बुझेका छन् । गुरुङ चलचित्रले करिब–करिब उद्योगको रूप धारण गरिसकेको छ । त्यसैले अब क्वान्टिटी होइन, क्वालिटी खोज्ने बेला हो । तर प्रितम गुरुङ गुरुङ समुदाय केन्द्रीत चलचित्रमा मात्र बाँधिन चाहँदैनन् । बरु दुई÷चार वर्ष ग्याप नै होस्, मूलधारको चलचित्र बजारमा हाम फाल्ने योजना उनको छ ।