कभर स्टोरी

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा रेशम

  • मनिराज गुरुङ, 

२०५२ सालमा १७ वर्षे कलिलो उमेरमै गुरुङ विद्यार्थी सङ्गठन ‘तमू विद्यार्थी छोँज धीं’को चितवन जिल्ला अध्यक्ष निर्वाचित भएर समुदाय केन्द्रीत सङ्गठनमा लाग्नुभएका रेशम गुरुङको पछिल्लो तीन दशक समुदाय केन्द्रीत सङ्गठनमै बितेको छ। २०५४ सालमा विद्यार्थी छोँज धींको महाधिवेशनबाट केन्द्रीय महासचिव र २०५७ मा केन्द्रीय अध्यक्ष चयन हुनुभएका उहाँको २०५७ सालबाटै केन्द्रीय तहको नेतृत्वमा प्रवेश भएको हो।

तमू छोँज धींको विधानमा भ्रातृ संस्थाहरूको अध्यक्ष केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था थियो। त्यसैले रेशम गुरुङ तमू छोँज धींको पदेन केन्द्रीय सदस्य पनि हुनुभयो। वाकपटुता रेशम गुरुङको अत्यन्तै सवल पक्ष हो। समुदायप्रतिको लगाव, अध्ययन र वाकपटुता अनि युवा जोसका कारण रेशम गुरुङ तमू छोँज धींको केन्द्रीय समितिको अभिन्न सदस्य बन्नुभयो। उहाँले केन्द्रीय नेतृत्वमा रहनुभएका अध्यक्ष, महासचिवलगायत विभिन्न व्यक्तिसँगै विभिन्न जिल्लामा पुगेर सङ्गठनलाई चुस्त बनाउने कार्यमा विशेष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नुभयो।

नेपालमा प्रजातन्त्र पुनर्वहाली भएको एक दशक भइसकेको थियो। १०४ वर्ष चलेको राणा शासन र ३० वर्षे पञ्चायती शासनकालमा कुनै अधिकार नपाएका आदिवासी जनजाति समुदाय अधिकार प्राप्तिको आन्दोलनमा थिए। २०४६ सालमा पुनर्वहाली भएको प्रजातान्त्रिक व्यवस्था र त्यसअन्तर्गत बनेको संविधानले आदिवासी जनजाति समुदायलाई सङ्गठित हुनेलगायतका केही अधिकार दिए पनि धेरै कुरा प्राप्त भएको थिएन। राज्यबाटै पछाडि पारिएको समुदायको उत्थानका लागि सकारात्मक विभेदको व्यवस्थाअनुसार आरक्षणको व्यवस्था त गरिएको थियो तर प्रभावकारी कार्यान्वयन हुन सकिरहेको थिएन।

२२ वर्षकै उमेरमा तमू छोँज धींको केन्द्रीय समितिमा पुग्नुभएका उहाँ आदिवासी जनजाति समुदायले भोग्नुपरेको यी सबै पीडा र आदिवासी जनजाति समुदायबाट अधिकार प्राप्तिका लागि भइरहेको आन्दोलनका विषयमा जानकार नै हुनुहुन्थ्यो। त्यसैले उहाँले तमू छोँज धींलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोड्ने पहल सुरु गर्नुभयो। तर तमू छोँज धींलाई अधिकार प्राप्तिको आन्दोलनमा औपचारिक रूपमा जोड्न समस्या रहेको उहाँले चाल पाउनु भयो।

नेपाल आदिवासी जनजाति महासंघमा औपचारिक रूपमा आबद्ध नभएसम्म त्यो सम्भव नहुने रहेछ। त्योबेला आदिवासी जनजाति महासंघको सदस्य चाहिँ तमू (गुरुङ) समन्वय परिषद् थियो। महासंघको संस्थापक सदस्य बौद्ध सेवा समिति नेपालले २०५७ सालमा देशभर स्थापना भएका सबै तमू सङ्गठनलाई नेतृत्व गर्ने भनेर स्थापना भएको छाता सङ्गठन तमू (गुरुङ) समन्वय परिषद्लाई महासंघको सदस्यता हस्तान्तरण गरेको थियो।

तेस्रो महाधिवेशनबाट कर्णबहादुर गुरुङ सङ्गठनको अध्यक्ष हुनु भएपछि रेशम गुरुङ केन्द्रीय संरक्षक परिषद्को अध्यक्षको भूमिकामा हुनुहुन्छ।

यो जानकारी पाएपछि उहाँले गुरुङ जातिको एउटै केन्द्रीय सङ्गठन बनाउनु पर्छ भन्ने अभियानमा लाग्नुभयो। अधिकार प्राप्तिको आन्दोलनमा कार्यगत एकता कायम गर्दै अघि बढे पनि तमू छोँज धीं र तमू (गुरुङ) समन्वय परिषद्लाई एकठाउँमा ल्याउन विभिन्न समयमा भएको प्रयास लामो समयसम्म सार्थक हुन सकेन। तर हरेस खानुभएन। तमू छोँज धीं र तमू (गुरुङ) समन्वय परिषदबीच किन एकता हुन सकिरहेको छैन त? त्यहाँ केही व्यक्तिको नितान्त व्यक्तिगत स्वार्थ लुकेको थाहा पाउनु भयो।

त्यो व्यक्तिगत स्वार्थ पनि कुनै लेनदेन नभई व्यक्तित्वको टकरावमा सीमित रहेको थियो। समुदायको हितका लागि स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ र सधैँ आशावादी भएर काम गर्नुपर्छ भन्ने मान्यता राख्नुभएका उहाँले सपना पनि गुरुङ एकताकै देख्नु हुन्थ्यो। अन्ततः २०६५ सालमा तत्कालीन तमू छोँज धीं र तमू (गुरुङ) समन्वय परिषद्बिच एकता भयो । एकतापछि बनेको सङ्गठन तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा प्राडा गणेशमान गुरुङ र महासचिवमा रेशम गुरुङ चयन हुनुभयो।

२०६९ साल माघ २०–२२ मा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को झापा विर्तामोडमा पहिलो महाधिवेशन भयो। रेशम गुरुङ अध्यक्षमा निर्वाचित हुनुभयो। २०६५ मा एकता हँुदा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को विधानमै अनुसूचीको विशेष व्यवस्था गरिएको थियो र त्यो अनुसूचीमा तत्कालीन तमू (गुरुङ) समन्वय परिषद्मा आबद्ध तमू संघ–संस्थाको स्वतन्त्र अस्तित्वलाई सम्मानपूर्वक स्वीकार गर्दै विशेष अधिकार प्रदान गरिएको थियो।

तर एकताको चार वर्षमा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र अनुसूचीमा सूचीकृत संस्थाहरूबीचको सम्बन्ध विस्तारै चिसिँदै गएको थियो। सङ्गठनमै करिब दुई दशक बिताइसक्नुभएका रेशम गुरुङ त्यो शीत सम्बन्धले अन्ततः समुदायलाई नै घाटा पुग्छ भन्नेमा जानकार नहुने कुरै भएन। उहाँले अध्यक्षमा निर्वाचित भएलगत्तै उपाध्यक्ष आरबी गुरुङको नेतृत्वमा वार्ता टोली गठन गर्नुभयो। विभिन्न चरणमा वार्ता भएपछि अन्ततःपरिणाम राम्रो आयो। एकता थप बलियो भयो।

यसअघि गुरुङ समुदायबाट उपाध्यक्षको हैसियतमा प्रा सन्तबहादुर गुरुङ (संस्थापक) र चन्द्रबहादुर गुरुङले प्रतिष्ठानको नेतृत्व गरिसक्नुभएको छ।

रेशम गुरुङले अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको ठिक चार वर्षपछि २०७३ को माघ २०–२२ मा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को नवलपरासीको कावासोतीमा दोस्रो महाधिवेशन भयो। रेशम गुरुङ दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभयो। विधानमा भएको व्यवस्थाअनुसार उहाँले दुई कार्यकाल गुरुङ समुदायको केन्द्रीय छाता सङ्गठन तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को नेतृत्व गर्नुभयो। तेस्रो महाधिवेशनबाट कर्णबहादुर गुरुङ सङ्गठनको अध्यक्ष हुनु भएपछि रेशम गुरुङ केन्द्रीय संरक्षक परिषद्को अध्यक्षको भूमिकामा हुनुहुन्छ।

२०६९ मा नेतृत्व सम्हाल्नु भएपछि देशभित्र र देशबाहिर पनि तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को सङ्गठन विस्तारमा जुट्नु भएका रेशम गुरुङ संसारभर रहेका तमू (गुरुङ)हरूलाई कसरी एकताको सूत्रमा बाँध्ने भन्ने चासो र चिन्तामा डुब्नु भयो। सोही क्रममा २०७३ को कात्तिक ७–८ गते सुनसरीको धरानमा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्कै समन्वयमा सार्क क्षेत्रमा रहेका तमूहरूको अन्तर्राष्ट्रिय भेला भयो। तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको सफलताबाट हौसिएर उहाँले संसारभर रहेका गुरुङ सङ्गठनहरूलाई एकताको सूत्रमा बाँध्न अन्तर्राष्ट्रिय तमू परिषद् (आइटिसी) गठनको अवधारणा अघि सार्नुभयो।

अन्ततः ११–१२ अक्टोबर २०१९ मा काठमाडौँमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा पहिलो अन्तर्राष्ट्रिय भेला सम्पन्न भयो। औपचारिक रूपमा अन्तर्राष्ट्रिय तमू परिषद् स्थापना भयो। २०२२ मा सिक्किमको देन्ताममा आइटिसीको दोस्रो भेला सम्पन्न भइसकेको छ भने आइटिसीले संसारभरका गुरुङहरूलाई एकताको सूत्रमा बाँधेको छ। संसारभरलाई बन्दी बनाएको कोभिड– १९ को अवधिमा पनि रेशम गुरुङले डिजिटल प्लेटफर्मबाट संसारभरका गुरुङलाई जोड्न विभिन्न कार्यक्रम गर्नुभयो।

गुरुङ समुदायसँगै आदिवासी जनजाति समुदायको अधिकार प्राप्तिको आन्दोलनमा सधैँ समन्वयकारी भूमिका निर्वाह गर्दै आउनु भएका उहाँ अन्ततः २०८१ साल मङ्सिर २७ गते नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएको छ। प्रतिष्ठानको निवर्तमान उपाध्यक्ष गोकुलप्रसाद घर्तीको पदावधि गत असार ११ मै समाप्त भएर उपाध्यक्ष पद रिक्त रहेको थियो। चार वर्षको कार्यकाल रहने प्रतिष्ठानको उपाध्यक्षमा नियुक्त हुने उहाँ तेस्रो गुरुङ हुनुहुन्छ। यसअघि गुरुङ समुदायबाट उपाध्यक्षको हैसियतमा प्रा सन्तबहादुर गुरुङ (संस्थापक) र चन्द्रबहादुर गुरुङले प्रतिष्ठानको नेतृत्व गरिसक्नुभएको छ।

(नोट : सप्रि ल्होको अवसरमा गुरुङ न्युज डटकम वर्ष पुस्तकमा प्रकाशित सामग्री)