- भूपाल गुरुङ,
लमजुङको राइनास नगरपालिका वडा नं.१० प्यारजुङ (साविक प्यारजुङ गाविस वडा नम्बर ८)मा जन्मिुभएका डा टकराज गुरुङ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री हुनुहुन्छ। भूतपूर्व भारतीय सेनाका अनरेरी कप्तान टेकबहादुर गुरुङ र आमा मनकर्नी गुरुङको जेठो छोरोको रूपमा वि.सं.२०३१ भदौ १२ गते जन्मिनुभएका उहाँ सानैदेखि राजनीतिमा रूचि राख्नुहुन्थ्यो।
पारिवारिक पृष्ठभूमि राजनीतिबाट टाढा रहे पनि उहाँका भाइ मनराज गुरुङ पनि हाल लमजुङको सुन्दरबजार नगरपालिका वडा नं.९ मा अध्यक्ष हुनुहुन्छ। एक दिदी लमजुङमा र कान्छो भाइ व्यवसायमा आबद्ध हुनुहुन्छ। श्रीमती प्रतिमा काठमाडौँको पद्मकन्या क्याम्पसमा अङ्ग्रेजी विषयको उप–प्राध्यापक हुनुहन्छ। महिला अधिकार, अपाङ्गता, जनजातिसम्बन्धी विषयमा समेत वहाँले वकालत गर्दै आउनुभएको छ।
टकराज र प्रतिमाका एक छोरा दीर्घायु काठमाडौँमै अध्ययनरत हुनुहुन्छ। कक्षा ७ सम्मको अध्ययन जन्मस्थान प्यारजुङको बुद्धमिलन माविमा गुर्नभएका मन्त्री गुरूङ त्यसपछि परिवारसँगै सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडार झर्नुभयो। भक्ति नमुना माविबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ स्कुले जीवनमा कहिल्यै दोस्रो हुनु भएन। कहिले स्कुल प्रथम त कहिले कक्षाको प्रथम भइरहनुभयो। एसएलसीपछिको अध्ययन भने काठमाडौँको अमृत साइन्स क्याम्पसबाट गर्नुभयो।
आइएसी र बिएस्सी त्यहीँबाट पूरा गर्नुभएका उहाँले वि.सं.२०५७ सालमा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीबाट फ्याकल्टी अफ ह्युमन एण्ड सोसियल साइन्स विषयमा स्नातकोत्तर सक्नुभयो। २०६३ सालमा नेपालको अर्थतन्त्रमा पर्वतीय पर्यटनको भूमिका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नुभयो। विद्यावारिधिपछि उहाँले आंशिक प्राध्यापनसमेत गर्नुभयो। वि.सं.२०६४ सालमा ‘माउण्टेन टुरिज्म इन नेपाल’ पुस्तकसमेत प्रकाशन गर्नुभएका उहाँ सो पुस्तक परिमार्जनसहित दोस्रो संस्करण प्रकाशनको तयारीमा हुनुहुन्छ।
राजनैतिक घटनाक्रम :
राजनीतिमा बुबाको खासै रूचि थिएन। तर, टकराजमा भने राज्यशक्तिको मुख्य शक्ति नै राजनीति हो भन्ने सोचाइ थियो। सोही सोचाइ र बुझाइका कारण विद्यार्थी जीवनबाटै राजनीतिमा चासो बढ्दै गयो। नेपाली कांग्रेस निकट वातावरणमा हुर्र्किनुभएकोले विश्वविद्यालय गएपछि पनि उहाँले कांग्रेससँगै नजिक रहेर काम गर्नुभयो।
वि.सं.२०४९ तिर काठमाडौँमा आइएस्सी पढ्दा नेपाल विद्यार्थी संघ लमजुङ काठमाडौँ सम्पर्क समितिको उपाध्यक्ष भएर काम गर्नुभएका उहाँ नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ उपत्यका समितिमा रहेर पनि काम गर्नुभयो। वि.सं.२०५२ साल माघ २६ र २७ गते बुटवलमा भएकोे तमू विद्यार्थी छोँज धीँको पहिलो महाविधेशनबाट निर्वाचित भीम गुरुङको अध्यक्षतामा गठित समितिमा उहाँ केन्द्रीय सदस्य बन्नुभयो।
त्यसताका उहाँ आदिवासी जनजातिका कार्यक्रमहरूमा सक्रिय हुनुहुन्थ्यो। वि.सं.२०५३ सालतिर नेपाल विद्यार्थी संघको लमजुङ जिल्ला अध्यक्ष भएर काम गरिसक्नुभएका उहाँ २०५६ को निर्वाचनका बेला गृहजिल्लामै मरणासन्न हुनेगरी कुटिनुभयो। विद्यार्थी राजनीतिमै छँदा चार वटा सार्वजनिक मुद्दामा करिब एक महिना जेलसमेत बस्नुभयो।
नेपाल विद्यार्थी संघको विश्वविद्यालय सभापति हुँदा परीक्षा रोक्ने निर्णयअनुसार कम्प्युटर तोडफोड गरेको आरोपमा १७ दिन हनुमान ढोका बस्नुभयो। २०५८ मा त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघको अध्यक्ष भएर तीन वर्ष काम गर्नुभयो।
पार्टी राजनीति :
कांग्रेसको १२औँ महाधिवेशनबाट महासमिति सदस्य चयन भएसँगै पदीय हिसाबले नै पार्टीमा औपचारिक प्रवेश गर्नुभएका उहाँ २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभयो। तर, नेकपा एमालेका जमिन्द्रमान घलेसँग ८८८ मतान्तरले उपविजेता बन्नुभयो। त्यसपछि पनि पार्टीको काममा अझ सक्रिय भएर लाग्नुभयो। त्यसपछि पार्टीको १३औँ महाधिवेशनमा महाविधेशन प्रतिनिधि र १४औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापति बन्नुभयो।
प्रदेश सदस्यदेखि मन्त्रीसम्मको यात्रा :
पार्टी सभापति हुँदै गर्दा वि.सं.२०७९ को निर्वाचनमा लमजुङ प्रदेश (ख)बाट यसअघि चुनावी प्रतिस्पर्धामा हुनुभएका जमिन्द्रमान घलेलाई एक हजार १६१ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्य बन्नुभयो। सांसद भएपछि २०८१ जेठ १७ गते कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री बन्नुभयो। अहिले पनि उहाँ आर्थिक मामिला मन्त्रीसँगै प्रदेश सरकारका प्रवक्ताको जिम्मेवारीमा हुनुहन्छ।
अनुभव र सन्देश :
राजनीतिमा लागेर अर्थ मन्त्री बन्न पाउनुमा संयोग र भाग्य दुवै मिल्न गएको उहाँको बुझाइ छ। अध्ययन र कर्मको सिलसिलामा २५ देशको भ्रमण गरिसक्नुभएका मन्त्री गुरुङ संविधानले दिएको अधिकारको सदुपयोग गरेर काम गर्ने बताउनुहुन्छ। आदिवासी जनजाति, दलित, महिला, पिछडा वर्गका लागि अधिकार र अवसर दिएको हुँदा त्यसको सही सदुपयोग हुने गरी काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
‘अधिकारको पक्षमा योभन्दा उत्कृष्ट व्यवस्था अरू हुँदैन,’ उहाँ भन्नुहुन्छ। संविधानले गणतन्त्र, सङ्घीयता, समावेशीता समानुपातिक प्रणाली, धर्म निरपेक्षताका विषयलाई सुनिश्चित गरेको छ। ‘विगतका शासन व्यवस्थामा कतिपय समुदायलाई दोस्रो दर्जाकै नागरिकका रूपमा लिइन्थ्यो। तर, अहिलेको व्यवस्थाले सबैलाई समान अधिकार दिएको छ,’ उहाँ भन्नुहुन्छ।
पछिल्लो समय गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन मन्त्रीपरिषद्बाट पास गरेर विधेयकसमेत पारित भइसकेको छ। सबैको पहिचानलाई समेटेर द्वन्द्व नहुने गरी सङ्घीयताको अभ्यासमा जाने प्रयास प्रदेश सरकारले गरिरहेको उहाँको भनाइ छ। विकासका कुरामा भने प्रदेश सरकारलाई संवैधानिकरूपमा बलियो बनाउनुपर्ने उहाँको तर्क छ।
सातवटै प्रदेश सरकारको भन्दा संघमा एउटै मन्त्रालयसँग धेरै बजेट भए पनि पालिकास्तरमा संघका योजना नै नहुँदा त्यसले तल्लोको विकासमा घाटा भएको उहाँ बताउनुहुन्छ। राजनीतिमा जसले मिहिनेत गर्छ, इमान, जमान र स्वाभिमानका साथ उभिन्छ उसैले प्रगति गर्छ भन्ने सन्देशका साथ राजनैतिक यात्रामा लम्किनुभएका उहाँ राजनैतिक यात्राको गन्तव्य अविच्छिन्न रहेको बताउनुहुन्छ।
अन्त्यमा…
हिजो पुर्खाले वीर गोरखाली भनेर चिनाए पनि त्यतिबेलाको इतिहासले वर्तमानलाई टेवा नपुग्ने उहाँ बताउनुहुन्छ। आदिवासी जनजाति नेपालको भूमिपुत्र भएको बताउँदै अन्य समुदायजस्तै राजनीतिक, सामाजिक, आर्थिकलगायतका अधिकार सुरक्षित रहेकाले विभिन्न वाद, बिचार र पार्टीमा लागेका व्यक्तिहरूलाई राजनीतिक बिचार र वाद पार्टीभित्र नेतृत्व गरे सफल नेता बन्न सक्ने उहाँको भनाइ छ।
(नोट : मुप्रि ल्होको अवसरमा वर्ष पुस्तक गुरुङ न्युज डटकममा प्रकाशित सामग्री)