चितवन । इच्छाकामना गाउँपालिकालाई मुख्य केन्द्र मानी विगत ८ वर्षदेखि सञ्चालनमा रहेको इच्छाकामना न्युज डटकमले आफ्नो समाचार प्रकाशनको सेवालाई थप विस्तारित गर्दै आइतबारदेखि गुरुङ भाषामा पनि समाचार प्रकाशन सुरु गरेको छ। गुरुङ समुदायको समाचारलाई गुरुङ भाषामै प्रकाशन गर्ने उद्देश्यअनुरुप तेस्रो गुरुङ भाषाको समाचार प्रसारण दिवसको मौका पारी भदौ १ गतेदेखि गुरुङ भाषामा समाचार प्रकाशन सुरु गरिएको इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिका सञ्चालक एवम् इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए।
सञ्चारमाध्यमलाई समावेशी बनाउने र समुदायप्रति अपनत्व महसुस गराउनको लागि पहिलो चरणमा गुरुङ समुदायको समाचारलाई मातृभाषामा प्रकाशन सुरु गरिएको उनले बताए। अनलाइनमा छुट्टै पृष्ठको विकास गरी गुरुङ समुदायको समाचार गुरुङ भाषामै प्रकाशन सुरु गरिएको उनले बताए। पछि यो सेवालाई भिडियो समाचारको रुपमा समेत प्रकाशन गरिने उनको भनाइ छ।
इच्छाकामना न्युज डटकम इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रालिले सञ्चालन गरेको डिजिटल समाचार संस्था हो। यसको सञ्चालकदेखि समाचार सम्पादन कक्ष तथा व्यवस्थापनसम्म सबै गुरुङ समुदायकै व्यक्तित्व छन्। ‘तसर्थ आफ्नो समुदायको भाषा जोगाउन पनि मातृभाषामा समाचार प्रकाशन थालिएको हो,’ उनले बताए।
लालुमाया गुरूङ अध्यक्ष एवम् सञ्चालक रहेको इच्छाकामना न्युज डटकममा कार्यकारी सम्पादकमा चित्र ‘सोल्टी’ गुरूङ, सम्पादकमा देवराज गुरूङ र गुरुङ भाषाको समाचार सम्पादकमा तुलमान गुरूङ छन्।