लन्डन । बेलायतमा रहेका नेपालीहरुको शानका रुपमा परिचित नेपाली मेलाको १६औं संस्करणको भव्य तयारी भएको छ ।
लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा २४ अगस्टमा हुने यस वर्षको नेपाली मेलाको तयारी पूरा भएको आययोजकले जनाएको छ । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।
मेलाको तयारीबारे आइतबार तमु धीं यूकेले मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहने छन् ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा। विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरूको परिचय दिएका थिए ।
मेला संयोजक एवं संस्थाका उपाध्यक्ष कमल कोने गुरुङले मेलामा ३५ बढी संघसंस्थाका झांकी, १५ बढी सांस्कृतिक प्रस्तुति, विभिन्न व्यवसायिक, खाना तथा च्यारिटीका झण्डै ७० स्टल र अन्य कयौं आकर्षण रहने जानकारी दिए ।
उनका अनुसार, मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथी र उज्यालो नेपाल अभियन्ता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथी रहने छन् ।
बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत सहभागिता अपेक्षा गरिएको तमुधिं यूकेको भनाइ छ ।
संयोजक गुरुङले यस पटकको मेलाले अघिल्ला वर्षहरुको गौरवलाई निरन्तरता दिंदै नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्धन, बेलायतमा नेपालबाट भित्रिएका स्थानीय उत्पादनहरुको बजार विस्तार गर्ने उद्देश्य लिएको प्रष्टयाए । मेला विगत जस्तै उत्साहप्रद, वहुआयामिक र समुदायको एकताको प्रतीकका रुपमा रहने अपेक्षा उनको छ ।
अध्यक्ष जुमकाजी गुरुङले कला संस्कृति, रहनसहन, भेषभूषा जगेर्नाको उद्धेश्यले मेला आयोजना गरिंदै आएको बताए । उनले मेला तमुधिं यूकेको मात्र नभइ समस्त नेपाली समुदायको भएको भन्दै सहभागी भएर सफल बनाइदिन सबैमा अपिल गरे । मिडियाकर्मीहरुलाई व्यापक प्रचारप्रसार गरि सहयोग गरिदिन पनि उनको अपिल थियो ।
अध्यक्ष गुरुङले गत वर्ष गोर्खा कपबाट संकलित रकममध्ये १० प्रतिशत नेपालको लमजुङमा च्यारिटी कार्यमा सहयोग गरिएको भन्दै नेपाली मेलामा समेत आम्दानी वचत भए खर्च गरिने जनाए ।
पत्रकारहरुको जिज्ञासा मेटाउंदै महासचिव डा. विशाल गुरुङले आगामी वर्षहरुमा पनि अग्रजको मार्गदर्शनमा नेपाली मेला निरन्तर हुने आशा व्यक्त गरे ।
मेलामा सधैं एकै खालका प्रस्तुति रहने गरेको प्रश्नमा डा. विशालले नेपाली मेलाको विशेषता हराउने चिन्ताले मेलामा ठूलो परिवर्तन नगरिएको प्रष्टीकरण दिए ।
वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दोश्रो पुस्ताले पनि यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै हेल्थ एण्ड सेफ्टी ब्रीफ दिए ।
मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरुको परिचय दिंदै उनीहरुलाई सम्मान गरिएको थियो । साथै नेपाली मेलाका लागि नेपालबाट आएका अतिथीहरुलाई विशेष सम्मान गरियो ।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ र हरि गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र महासचिव शान्ता गुरुङ, ट्रष्टी सूर्य गुरुङसहित पदाधिकारी, सल्लाहकार, विभिन्न रिजनल समितिका प्रतिनिधिलगायतको उपस्थिति थियो ।