काठमाडौं । नेपाली सेनाका पूर्वकर्णेल तथा राष्ट्रिय फूटबल प्रशिक्षक मणिन्द्र गुरुङको आज अन्त्येष्टि गरिएको छ । बौद्ध धार्मिक परम्पराअनुसार काठमाडौंको टेकुस्थित घाटमा सैनिक सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
गुरुङको तीन दिनअघि सैनिक अस्पताल छाउनीमा निधन भएको थियो । एक वर्षदेखि बिरामी रहेका गुरुङको उपचारका क्रममा निधन भएको थियो ।
नेपाली फुटबल खेलमा अतुलनीय योगदान दिएका गुरुङको अन्त्येष्टिका अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी दिएका थिए ।
राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ, तमू बौद्ध सेवा समिति नेपालका अध्यक्ष नारायण गुरुङ, क्वोने (घोताने÷घोण्डे) गुरुङ (तमु) समाजका अध्यक्ष विश्व गुरुङ, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णेल मणिन्द्र गुरुङका सम्धी क्या. लालजंग गुरुङ, नमो बुद्ध समाजका अध्यक्ष लिला गुरुङ, पौरखी नेपालका अध्यक्ष श्रीमती सत्र गुरुङ तथा मञ्जु गुरुङ, कृष्ण गुरुङ, मिलिजुली तमू समाजका अध्यक्ष कमल कृष्ण गुरुङ तथा महासचिव राजु गुरुङ लगायत, आदिवासी जनजाति अगुवा आङकाजी शेर्पा, नेपाली सेना तथा नेपाल प्रहरीका पूर्वउच्च पदस्थ अधिकारीहरु, हिमालय जेटका नेपाल प्रतिनिधि, समाजका प्रतिष्ठित व्यक्तित्वहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नमो बुद्ध सेवा समितिका सदस्य चन्द्रमान गुरुङले स्वर्गीय मणिन्द्र गुरुङको जीवनी बाचन गरेका थिए ।
पूर्वकर्णेल मणीन्द्र गुरुङको संक्षिप्त जीवनी
नेपाली सेनाका अवकास प्राप्त कर्णेल मणीन्द्र गुरुङको जन्म २००६ सालमा भारतको देहरादुनमा बाबा क्या. बृत्तसिंह गुरुङ र आमा विष्णुमाया गुरुङको कोखबाट भएको हो । पुख्र्यौली घर कास्कीको तत्कालीन विजयपुर पोखरी गाविस हो । बाबा भारतीय सेनामा सेवारत रहनुभएकाले उहाँको प्रारम्भिक शिक्षा देहरादुनमा नै भयो । कक्षा ६ सम्म देहरादुनमा पढ्नुभयो । त्यसपछि बाबा भारतीय सैनिक सेवाबाट अवकास भएपछि आफ्नै थातथलोमा फर्कनुभयो । पोखराको अमरसिंहचोकमा रहेको सोल्जर्र बोर्ड भोकेशनल ट्रेनिङ हाइस्कुलमा कक्षा ६ मा भर्ना हुनुभयो । सोही स्कूलबाट २०२३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।
स्नातक (बिए) उत्तीर्ण गर्नुभएपछि उहाँ २०३२ सालमा नेपाली सेनाको अधिकृतमा भर्ना छनौट हुनुभयो । सेनामा भर्ती हुनुअघि नै उहाँ फुटबलको राष्ट्रिय टीममा छनौट भइसक्नुभएको थियो । विद्यालय पढ्दादेखि नै उहाँमा फुटबलप्रतिको लगाव धेरै नै थियो ।
२०२९ देखि २०३१ सालमम्म भने गण्डकी टीमकै नेतृत्व गर्नुभयो । त्यस्तै, विभिन्न फुटबल प्रतियोगितामा उहाँले टीमको नेतृत्व गर्नुभयो । त्यसबेला उहाँले राज्यभिषेक पदक समेत हात पार्नुभयो ।
नेपाली सेनामा पनि उहाँले फुटबल खेल विकासका लागि नै अधिकांश समय दिनुभयो । उहाँले चीनसँग फुटबल खेल्न सेनाले बनाएको पहिलो फुटबल टीममा रहेर खेल्ने अवसर पाउनुभयो ।
फुटबलप्रतिको लगावका कारण सेनाले २०४२ सालमा उहाँलाई प्रशिक्षकको तालिम लिन भारत पठायो । उहाँले भारतको पटियालास्थित ‘एनआइएस’मा नौ महिना प्रशिक्षक तालिम लिनुभयो । त्यसपछि आर्मीको टीमलाई नै प्रशिक्षण दिन थाल्नुभयो । २०४३–४४ सालमा बनेको फुटबल टीमलाई उहाँले कोच गर्ने मौका पाउनुभयो । त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई रेखदेख गर्ने, प्रशिक्षण दिने र सक्षम खेलाडी बनाउने काममा उहाँ दत्तचित्त भएर लाग्नुभयो । ३२ वर्षको सैनिक जीवनको १५ वर्षभन्दा बढी समय उहाँले त्रिभुवन आर्मी क्लबमै योगदान दिनुभयो ।
उहाँ सधैं १० नम्बरको जर्सीमा खेल्नुहुन्थ्यो ।
उहाँले नेपाली फुटबल क्षेत्रलाई विशिष्ट योगदान दिनुभएको छ । फुटबल क्षेत्रले उहाँलाई अत्यन्तै सम्मान गर्ने व्यक्तित्वमध्येमा पर्नुहुन्छ ।
नेपाली सेनाबाट २०६४ मा अवकास हुनुभयो । अवकास जीवनमा पनि उहाँ त्यसै बस्नुभएन । सामाजिक सेवामा उत्तिकै सक्रिय रहनुभयो ।
उहाँले सैनिक जीवनमा जागिर, फुटबल, परिवार र समाजलाई अत्यन्त सन्तुलन मिलाएर अघि बढ्नुभयो । जसका कारण उहाँका छोराछोरीहरुले सक्षम बन्नुभएको छ । छोरी पुनम गुरुङ गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष भइसक्नुभएको छ । ठूलो छोरा दीपेन्द्र गुरुङ बेलायत व्यवसाय गर्नुहुन्छ भने कान्छा छोरा जितेन्द्र गुरुङ नेपाली सेनामा मेजर हुनुहुन्छ । श्रीमती कृष्णा गुरुङले कर्णेल मणिन्द्रलाई हरदम साथ दिदै घरव्यवहार सकुसल धान्दै आउनुभएको छ । उहाँको पाँच दाजुभाई र तीन दिदीबहिनी हुनुहुन्छ । उहाँले जीवनको उत्तराद्र्धमा ‘म मणिन्द्र’ नामक पुस्तक समेत प्रकाशन गर्नुभएको छ ।
एक सक्षम, कुशल, अनुशासित, समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो कर्णेल मणिन्द्र गुरुङ । उहाँले आज हामीलाई छाडेर जानुभएको छ । तर, उहाँले देश, समाज र खेल क्षेत्रलाई दिनुभएको योगदान सदा हामी स्मरण गर्नेछौं । यो शोकको घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी श्री भगवान बुद्धसँग प्रार्थना गर्दछौं ।