- तुलमान गुरुङ,
चितवन । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा सार्वजनिक गरिएको छ। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा सार्वजनिक गरिएको ‘रिमै’ शीर्ष गीतमा नायिका रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापा लगायतका कलाकारको अभिनय समावेश छ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक खिलबहादुर गुरूङ, कार्यकारी निर्माता वीरबल घले (विरूप), नायिका रिश्मा गुरूङ, गायक तथा सङ्गीतकार आँशु लामा, सहनिर्माता विनु गुरूङ, सम्पादक मित्र डी गुरूङलगायतको टोली सहभागी थियो। रोटेपिङ इन्टरटेनमेन्ट निर्माण र गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र भदौ २० गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।
रिश्माको पर्दामा पुनरागमन
‘कबड्डी’ श्रृङ्खलापछि लामो अन्तरालमा नायिका रिश्मा गुरूङ ‘रिमै’ मार्फत पर्दामा फर्किएकी हुन्। शीर्षगीत सार्वजनिकको अवसरमा मात्र अमेरिकाबाट नेपाल फर्किएकी उनले गीतप्रति दर्शकको उत्साहले आफूलाई हौसला मिलेको बताइन्। ‘गीत जस्तै चलचित्रलाई पनि दर्शकले माया गर्नुहुनेमा विश्वास छ,’ उनले भनिन्।
चितवनबाट प्रचारको सुरुवात
निर्देशक खिलबहादुर गुरूङका अनुसार राजधानीमा मात्र सीमित रहने प्रचारप्रसारलाई यसपटक मोफसलबाट सुरु गरिएको हो। ‘चितवन नेपाली चलचित्रको प्रमुख बजार हो, त्यसैले यहाँबाटै प्रचार अभियान शुरू गरेका छौं,’ उनले बताए। गीतमा आँशु लामा र रिता केसीको स्वर, दीपक शर्माको शब्द र सङ्गीत रहेको छ, जसमा गुरूङ संस्कृतिको स्पष्ट चित्रण गरिएको छ।
दृढ कथावस्तु र प्रस्तुति
कार्यकारी निर्माता वीरबल घलेले चलचित्रको कथा, निर्देशन र प्रस्तुति निकै बलियो भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गरे। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको कथामा आधारित यस चलचित्रमा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङलगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ।
टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानीमा तयार भएको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ सहनिर्माता हुन्।
कार्यक्रममा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मान गरेको थियो। हल भरिभराउ दर्शकको मागअनुसार गीत दुईपटक प्रदर्शन गरिएको र त्यही दिन युट्युब च्यानल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।