- हुम तमू,
कास्की । तमू खेगी प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा गुमानसिंह ल्हेगे तमू चयन भएका छन्। प्रतिष्ठानको प्रथम अधिवेशनबाट गुमानसिंहको नेतृत्वमा कार्यसमिति गठन गरिएको हो। समितिको उपाध्यक्ष यमबहादुर तमू, सचिवमा हिमबहादुर तमू, सहसचिवमा सुनबहादुर तमू, कोषाध्यक्षमा क्याप्टेन दुर्गाबहादुर तमू र सहकोषाध्यक्षमा क्याप्टेन उमरबहादुर तमू चयन भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरुमा भने डोलबहादुर तमू, बोमबहादुर तमू, गुमनध्वज तमू र झलेन्द्रमान तमू चयन भएका छन्। समिति गठनसँगै प्रतिष्ठानको मुख्य प्रशिक्षकमा ठउब च्हाक्ली तमू चयन भएका छन् भने सहायक प्रशिक्षकमा लेसबहादुर तमू र तुलबहादुर च्हाक्ली तमू चयन भएका छन्।
अधिवेशनका क्रममा अनसुलट तेक्वान्दो डोजाङका प्रशिक्षक, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य रेखमाया तमूस्योलाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्याङजा तमू ट्हो समाजका अध्यक्ष डोलबहादुर तमूले तमू जातिको संस्कार, संस्कृतिको संरक्षण गर्ने काममा योगदान दिन सुझाव दिए। तमूहरुको मौखिम संकारलाई जीवन्त राख्नको लागि प्रतिष्ठानले खेगी प्रशिक्षण गर्दै आएको विषयले नयाँ पुस्तालाई समेत ज्ञान प्राप्त हुने हुँदा यस्ता कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे।
सोही परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानले गत वर्षदेखि नै खेगी प्रशिक्षण सुरु गरेको छ, जसमा ९ देखि ३० वर्ष उमेरसम्मका आठ जना प्रशिक्षार्थी सहभागी छन्।
कार्यक्रममा लेप्टेन पूर्णबहादुर तमू, सुबेदार देवबहादुर तमू, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उपसचिव तेजबहादुर च्हाक्ली तमू, तमू प्ये ल्हु संघ गण्डकीका अध्यक्ष कुलप्रसाद तमूलगायतको उपस्थिति थियो।