चितवन । पोखराका लेखक तीर्थ गुरूङको पछिल्लो उपन्यास ‘हिउँको गीत’ पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच कृतिभित्र पर्न सफल भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रकाशित गरेको वर्ष २०८१ मा प्रकाशित उत्कृष्ट पाँचकृतिमध्ये गुरूङको कृति पनि पर्न सफल भएको हो।
गुरूङको यसअघि ‘पाठशाला’ र ‘आपा क्हार्प’ उपन्यास प्रकाशित छन्। त्यसबाहेक टिमआई गुरूङद्वारा अङ्ग्रेजी भाषामा प्रकाशित कृतिलाई ‘आयो गोरखाली’को रुपमा नेपाली अनुवादसमेत तीर्थ गुरूङले नै गरेका हुन्।
प्रतिष्ठानले सार्वजनिक गरेको सूचीअनुसार ‘हिउँको गीत’सँगै छुदेन काविमोको उपन्यास ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’ पनि पद्मश्री साहित्य पुरस्कार लागि उत्कृष्ट पाँचभित्र परेका छन्।
चितवनको रत्ननगर–१ मा रहेको प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिको लागि वि.सं.२०६३ सालदेखि वर्षभरि प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ।
प्रतिष्ठानले प्राप्त गरेको २०३ वटा कृतिहरुमध्येबाट पहिलो चरणमा पुरस्कार चयन समितिको सिफारिसअनुसार १५ वटा कृतिको सूची गत असार १५ गते नै सार्वजनिक भएको थियो। त्यसबाट पनि पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिसबमोजिम एक महिनापछि पाँच कृतिको सूची सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।
पाँच कृतिबीच पनि पुरस्कार छनौट समितिले पुनः अध्ययन गरेपश्चात उत्कृष्ट कृतिलाई नगद तीन लाख राशिसहित पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ।