गुरुङ विशेष

प्रज्ञाप्रतिष्ठानद्वारा पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन

चितवन । नेपाली सञ्चारको इतिहासमा पहिलोपटक तमू (गुरूङ) भाषामा पत्रिका प्रकाशन भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानले तमू भाषामा ‘तमू कए’ तमू क्युईल ल्हो क्रिर्बे छ्युई अर्थात् तमू आवाज गुरूङ भाषाको एक वर्षको पुस्तक प्रकाशन गरेको प्रज्ञा प्रतिष्ठानका मातेभाषा विभाग प्रमुख एवम् प्राज्ञ सदस्य राजन मुकारूङले जानकारी दिए। पत्रिकाको रूपमा गुरूङ भाषाले स्थान पाएको यो नै पहिलो घटना भएको उनले बताए।

प्रज्ञाप्रतिष्ठान स्थापना भएको ६७ वर्ष भइसक्दासमेत बल्ल गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएको तमू कएकी कार्यकारी सम्पादक अनिता गुरूङले बताइन्। ‘हामीले पहिलो पटक गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएका छौँ,’ उनले भनिन्, ‘यसलाई औपचारिकरुपमा लोकार्पण भने केही दिनमा हुने छ।’

ढिलै भए पनि तमू समुदाय प्रज्ञाप्रतिष्ठानप्रति खुसी भएको उनले बताइन्। कार्यकारी सम्पादक गुरूङका अनुसार पत्रिकामा गुरूङ जातिको बसोबास रहेको गाउँको चिनारी, व्यक्ति चिनारी, गुरूङ जातिको रीतिरिवाज एवम् संस्कार, संस्कृति समेटिएको छ।

ठूलो मिहिनेत र प्रयासपछि लक्ष्य पूरा भएको बताउँदै उनले भनिन्, ‘कम्तिमा वर्षमा दुई अङ्क प्रकाशन गर्ने लक्ष्य राखेका छौँ।’ प्रतिष्ठानले गुरूङ भाषाप्रति देखाएको आत्मीयतालाई जीवित राख्नको लागि सम्पादकीय समूह जिम्मेवार भएर काम गर्नेसमेत उनले बताइन्।

नेपालमा गुरुङ जाति, समुदाय तथा संस्कार, संस्कृतिमा आधारित पत्रिका एवम् पुस्तकहरु प्रकाशन भए पनि गुरुङ भाषामै पत्रिका प्रकाशन हालसम्म भएको थिएन।