गुरुङ विशेष

‘तमू जातिको नेतृत्व डा रेमबाट सिक्नुपर्छ’

चितवन । तत्कालीन तमू छोँज धीँका अध्यक्ष एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद संरक्षक परिषदका पूर्वअध्यक्ष डा रेमबहादुर गुरूङलाई चितवनका गुरूङहरुले स्मरण गरेका छन्। डा गुरूङको १५औँ पुण्यतिथिमा चितवनका गुरूङहरुले देशभरका गुरूङहरुलाई एक ठाउँमा ल्याउने भूमिका खेलेको भन्दै चर्चा गरेका हुन्। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको स्मृति दिवसमा डा रेमको योगदानकै कारण आज गुरूङ समुदाय एकताको सूत्रमा बाँधिएको तमू समुदायका अगुवाहरुले बताए। तसर्थ डा रेमले समुदायप्रति गरेको योगदानलाई पछिल्लो समय तमू समुदायको नेतृत्व गर्नेहरुले भुल्न नहुने समेत तमू अगुवाहरुले बताए।

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले डा रेमबहादुर गुरूङको शेषपछि दोस्रो व्यक्तिको जन्म हुनै बाँकी रहेको बताए। ‘तमू समुदायका लागि डा रेमले जति काम गर्नुभयो त्यसपछि मैले त्यत्तिको योगदान दिन सक्ने व्यक्ति भेटेको जस्तो लाग्दैन’, उनले भने, ‘अबको नयाँ पुस्ताले तमू समुदायलाई कता लैजाने भन्ने विषयमा सोच्नुपर्छ।’ कुनै पनि व्यक्ति संघसंस्थाको नेतृत्वमा पुगिसकेपछि पक्ष र विपक्ष हेर्न नहुने उनको तर्क थियो।

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष विमलादेवी गुरूङले डा रेमबहादुर गुरूङलाई तमू ह्युल छोँज धीँको चितवन जिल्लाले तमू समुदायकै एक जना कर्मठ योद्धा गुमाएको बताइन्। देशभर आआफ्नो तरिकाले संघ/सङ्गठन खोलेर बसेका तमूहरुलाई एउटै छातामुनि ल्याएर तमू समुदायलाई सत्मार्गमा हिँड्न सिकाउने व्यक्तिको इतिहासलाई वर्तमानले बिर्सन नहुने भन्दै तमू ह्युल छोँज धीँको चितवन जिल्ला समितिले विगतदेखि नै सम्झिने प्रयास गर्दै आएको उनले बताइन्।

‘स्व. डा रेमकै कारण आज हामी यो स्थानमा उभिन सकेका छौँ’, उनले भनिन्, ‘भोलिको पुस्ताले पनि डा. रेमको योगदानलाई बिर्सन हुँदैन।’ डा. रेमजस्तै व्यक्तिका कारण तमू समुदायको नेतृत्वमा बसेर खुट्टा दह्रो बनाउने प्रयास गर्दै आएको उनको भनाइ छ। सत्कर्म गर्ने जोसुकै व्यक्तिलाई शेषपछि पनि मानवजगत्ले सम्झिइरहने बताउँदै उनले भनिन्, ‘म आज तमू ह्युल छोँज धीँको नेतृत्वमा रहँदै गर्दा समुदायलाई माथि उकास्न नसके पनि बर्बाद हुनबाट जोगाउन सक्छु भन्ने प्रेरणा मिलेको छ।’

कार्यक्रममा तमू ह्युल छोँज धीँका निवर्तमान केन्द्रीय सचिव सन्तलाल गुरूङ, केन्द्रीय सदस्य नारायणसिंह गुरूङ, तमू ह्युल छोँज धीँका सल्लाहकार शारदा गुरूङ, तमूस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष सीतादेवी गुरूङलगायत विभिन्न संघसंस्था एवम् तमू ह्युल छोँज धीँका विभिन्न इकाइका प्रतिनिधिहरु सहभागी थिए।