– तुलमान गुरूङ,
चितवन । शनिबार निधन भएका गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको आइतबार देवघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरूङको अन्तिम संस्कार गुरूङ जातिको परम्पराअनुसार गरिएको हो। धर्मगुरूहरुबाट अन्तिम संस्कारको कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो।
त्यसभन्दाअघि स्वर्गीय गुरूङको निवास भरतपुर–२६, दिव्यनगरमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो। गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आएका थिए। उनले नेपाली कांग्रेसमात्रै नभई नेपाली राजनीतिमै महान् योद्धा गुमाएको बताए।
नेपाली कांग्रेसमा नयाँ पुस्ताले पृथ्वीमान गुरूङबाट धेरै कुरा सिक्नुपर्ने उनले बताए। उनले भने, ‘राजनीतिमा कति नेताहरु धैर्यताको बाँध फुटाएर बाहिर गएका उदाहरण प्रशस्तै छन्। तर, पृथ्वीमान गुरूङ जस्तोसुकै जटिल परिस्थितिमा पनि धैर्यताका साथ जुध्न सक्ने नेता हुनुहुन्थ्यो।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वसभापति टेकप्रसाद गुरूङले कांग्रेसको राजनीतिमा पढेलेखेका विद्वान् नेता गुमाएको बताए। सङ्गठनका लागि ठूलो क्षति पुगेको उनले बताए। ‘२०४६ सालको जनआन्दोलनमा कांग्रेसबाट नेतृत्व गर्ने योद्धा हुनुहुन्थ्यो’, उनले भने, ‘पार्टी दुई धार हुँदा ताका जिल्लाको नेतृत्वसमेत सम्हालिसक्नुभएको व्यक्ति भएको हुँदा उहाँलाई पार्टी सञ्चालन गर्ने खुबी भएको व्यक्तिको रुपमा कांग्रेसले चिनेको थियो।’
गुरूङ निवासमा श्रद्धाञ्जली अर्पण गरिसकेपछि पार्टीको जिल्ला समितिको कार्यालय कमलनगरमा पार्टीका कार्यकर्ता एवम् शुभेच्छुकहरुबाट श्रद्धाञ्जली अर्पण गरेपछि शवयात्रा गरेर देवघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए। नेपाली राजनीतिमा एक जना त्यागी एवम् सादगी नेता गुमाएको भन्दै कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापतिसमेत रहेका गुरूङ पार्टी पङ्क्तिमा पदीय हिसाबले थोरै ठाउँमा भए पनि राजनीतिमा आफूले लिनेभन्दा दिने काममा बढी सक्रिय हुने गरेको उनका सहकर्मीहरुले बताउँदै आएका छन्।
वि.सं.२००६ सालमा कास्कीको ल्वाङघलेलमा जन्मिएका गुरूङको बाल्यकाल र आधारभूत शिक्षा कास्कीमा भए पनि राजनीतिमा भने चितवन आएपछि सक्रिय भएका हुन्। केही समयदेखि क्यान्सरसँग जुधिरहेका गुरूङकोे ७६ वर्षको उमेरमा निधन भएको हो। उनको परिवारमा जेठो छोरोको यसअघि नै निधन भइसकेको हुँदा हाल श्रीमती, एक छोरा, बुहारी छन्।
कांग्रेस चितवनले जिल्ला समितिका पूर्वसभापतिको निधन भएको विषयलाई लिएर तीन दिनसम्म पार्टीको जिल्लास्थित सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। आइतबार बिहान जिल्ला समितिको आकस्मिक बैठक बसेर जिल्ला समितिको कार्यालयसहित ९८ वटै वडा कार्यालय बन्द गर्ने निर्णय भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
साथै सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको उनले बताए। त्यसबाहेक, पार्टीको जिल्ला समितिले स्वर्गीय पृथ्वीमान गुरूङको वार्षिक पुण्यस्मृतिको अवसर पारेर उनको जीवन सङ्ग्रहित कृति प्रकाशन गर्ने निर्णय गरेको सभापति खनालले बताए।
कांग्रेसको राजनीतिमा २०२९ सालदेखि सक्रिय हुँदै आएका गुरूङ केही समय प्राध्यापनमा समेत व्यस्त भए। २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ को सांसद् पदमा उमेदवार बनेका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको पार्टीसँग रूष्ट भएपछि शेरबहादुर देउवा नेतृत्वले खोलेको नेपाली कांग्रेस प्रजातान्त्रिकमा उनी चितवन जिल्ला सभापति भए। पार्टी पुनः एक ठाउँमा आएपछि उनले सम्मानित नेताको रुपमा रहेर पार्टी नेतृत्व अन्य नेतालाई सुम्पिए।
२०७८ साउन १२ गते उनी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। प्रदेश प्रमुखको कार्यकाल सकिएलगत्तै उनी उपचारमा केन्द्रित भएका थिए। उपचारको लागि भारतसम्म पुगेका उनी सोचेजस्तो उपचार नपाएपछि घर फर्किएका थिए।