सिन्धुली । तमुधिँ युकेको आर्थिक सहयोगमा गोलन्जोर गाउँपालिका ४ काउलेमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । अहिलेको युगमा पनि बोकेर पानी खानुपर्ने स्थितिमा रहेका काउलेबासीका लागि तमुधिँ युकेको सहयोगमा स्थायी पानीको मुहान पहिचान गरी पानी पुर्याएपछि समस्या समाधान भएको हो ।
काउलेको खानेपानी समस्या समाधान गर्नका लागि लिफ्ट सिचाईबाट समेत पानीको व्यवस्था गरिएको थियो । सो पानी पनि बारम्बार पानी तान्ने मोटर बिगिएपछि काउलेमा पानीको समस्या ज्यूँकात्यूँ थियो ।
पानी तान्ने मोटर बिग्रिएपछि काउलेबासीले आधा घण्टा तल पुगेर पानी बोकेर पिउँदै आएका थिए । तमुधिँ युकेले वरिष्ठ पत्रकार डण्ड गुरुङको संयोजकत्वमा गोलन्जोरमा सिचाई लगायतका काम गर्न सहयोग गर्ने भएसँगै काउलेमा पनि खानेपानी पुर्याउने काम भएको हो ।
काउलेमा पानी पुर्याउन अरु मुहान थिएन । भोक्टेघारी दलित वस्तीले प्रयोग गर्दै आएको पानीको मुहानबाट काउले पानी पुग्ने सम्भावना थियो । सोही सम्भावनाको अध्ययनपछि भोक्टेघारी–काउलेमा खानेपानीको काम प्रक्रिया अघि बढेको थियो । भोक्टेघारीमा पनि पर्याप्त खानेपानीको व्यवस्था थिएन ।
तमुधिँ युकेले पहिला वडा नम्बर ४ कै सिउरेनीमा सिचाई पोखरी बनाउने योजना बनाएको थियो । संयोजक गुरुङले भोक्टेघारी–काउलेको पानीको स्थिति बुझेपछि तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङसँगको समन्वयमा भोक्टेघारी–काउलेमा खानेपानीको व्यवस्था गर्ने निधो गरिएको थियो ।
संयोजक डण्ड गुरुङका अनुसार, चैतको महिना थियो । लिफ्टको पानी बन्द भएको धेरै महिना बितिसकेको रहेछ । काउले पुग्दा पानीको हाहाकार देखियो । भोक्टेघारीमा पनि यसअघि नै १६ इञ्जको पाइपमा ल्याएको पानीले ११ घरधुरी दलित वस्तीले जेनतेन काम चलाइरहेका थिए । यो सबै स्थितिबारे ४ नम्बरका पूर्ववडाध्यक्ष बेगबहादुर गौदासे र सक्रिय युवा हिरा मगरले वस्तुस्थिति बुझ्न सघाएका थिए ।
खानेपानीको समस्याका बारेमा पालिका अध्यक्ष शंकरराज बरालसित पनि त्यसअघि छलफल गरेका थिए । अध्यक्ष बरालले पानीको व्यवस्था गर्ने आश्वासन पनि दिएका थिए । तर, भइरहेको थिएन । त्यसपछि संयोजक डण्ड गुरुङले पालिका अध्यक्ष बरालसित समेत समन्वय गरी खानेपानीको समस्या समाधानका लागि काम गर्ने र तमुधिँ युकेले गर्ने सहयोगबाट अपुग भएमा पालिकाले समेत बजेट व्यवस्था गर्ने विषयमा छलफल भएको थियो ।
पानीको हाहाकार रहेको भोक्टेघारी र काउलेमा चैत–वैशाखकै खडेरीमा पानी पुर्याउने काम भयो ।
मुहानमा विगतमा भोक्टेघारी लगिएको मुहानबाट पनि त्यसमा थप सुधार गरिए भने त्यसमाथि अर्को मुहान बनाएर तत्काल पाइप बिछ्याइ पानी भोक्टेभारी र काउले पुर्याइएको थियो ।
त्यसपछि भोक्टेघारीमा पानी जम्मा गर्ने चार मिटर लम्बाई र चारै मिटर चौडाई भएको खानेपानी ट्यांकी बनाइएको भोक्टेघारी–काउले खानेपानी उपभोक्ता समितिका अध्यक्ष बेगबहादुर गौदासे मगरले बताए । त्यस्तै, काउलेमा एक मिटर लम्बाइ, एक मिटर नै चौडाई भएको वितरण ट्यांकी बनाइएको छ ।
यो योजनाअन्तर्गत काउलेमा सात घरले पानी पिइरहेका छन् । अन्य केही घरमा पनि खानेपानीको समस्या रहेको भएपनि विगतदेखिका स्थानीय विवाद रहेकाले तत्काललाई सात घरलाई मात्र सो पानी वितरण गरिएको स्थानीयहरुले बताएका छन् । अन्य कुनै स्रोतबाट अपुग काउलेका स्थानीयलाई पानी पुर्याउनुपर्ने आवश्यक रहेको अध्यक्ष गौदासे बताउँछन् ।
दिगो रुपमा मुहानबाट पानी आएपछि स्थानीय भीमसेन ठकुरी खुशीले मख्ख छन् । उनी भन्छन्, ‘हामीले थाहा पाएदेखि नै बोकेर पानी खानुपर्थ्यो, अब भने बल्ल पक्का मुहानबाट पानी आयो । पानी बोक्नु नपर्ने भयो ।’
काउलेका युवा मिलन ठकुरी पानीले हाहाकार बनेको ठाउँमा पछिसम्मलाई हुनेगरी पानी ल्याइपुर्याइदिएकोमा सहयोगी संस्था तमुधिँ युकेलाई धन्यवाद दिन्छन् । भन्छन्, ‘न त हामीले उहाँहरु (तमुधिँ युके) लाई चिन्छौं, न त उहाँहरुले हामीलाई, मानवको नाताले यति ठूलो सहयोग गरिदिनुभयो । हामी बेस्सरी खुशी छौं । तमुधिँ युकेलार्ई धेरै धेरै धन्यवाद ।’
असारको अन्तिम साता काउले पुगेका पालिका अध्यक्ष बराल र वडाध्यक्ष भक्तबहादुर भुजेलले पानीको हाहाकार रहेको भोक्टेघारी र काउलेमा पानी पुर्याउन सहयोग गरेकोमा तमुधिँ युकेलाई धन्यवाद ज्ञापन गरेका छन् । पालिका अध्यक्ष बरालले भने, ‘यहाँ पानीको समस्या थियो भन्ने मलाई जानकारी थियो । बजेटको व्यवस्था गरौला भन्दै थिएँ, त्यसैबेला डण्डजीसँगको समन्वयमा तमुधिँ युकेको सहयोगबाट खानेपानी आइपुगेको छ । यसमा डण्डजी र तमुधिँ युकेलाई धेरै धेरै धन्यवाद र उपभोक्तालाई बधाई ।’
अहिलेसम्मकै ठूलो सिचाई पोखरी !
तमुधिँ युकेको सहयोगमा गोलन्जोर ४ कै सिउरेनीमा सिचाई पोखरी बनेको छ । सात मिटर लम्बाई र सात मिटर चौडाई रहेको सिचाई पोखरी पहाडी भेगमा सबैभन्दा ठूलो बनेको अनुमान छ ।
किसानहरुलाई सिचाईको सुविधा पुर्याउने उद्देश्यले यो सिचाई पोखरीको निर्माण गरिएको हो । कृषि विकास कार्यालय सिन्धुलीका एक प्राविधिकका अनुसार, यो सिचाई पोखरी सिन्धुली जिल्लाका पहाडी भूभागमा अहिलेसम्मकै ठूलो बनेको छ । कृषिकै सहयोगमा यसअघि पहाडी क्षेत्रमा छ मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएका सिचाई पोखरीसम्म बन्ने गरेको ती प्राविधिक बताउँछन् ।
सो सिचाई पोखरीबाट फलफूल तथा तरकारी खेती गर्ने किसानलाई फाइदा पुग्ने सिउरेनी सिचाई पोखरी निर्माण समितिका अध्यक्ष डिलबहादुर राना बताउँछन् । सुख्खा मौसममा फलफूलका विरुवमा पानी लगाउनका लागि समस्या भइरहेका बेला तमुधिँ युकेको सहयोगमा पाइपसहित सिचाई पोखरी निर्माणले गाउँले नै खुशी भएको उनी बताउँछन् । सो योजनाअन्तर्गत १९ घर स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
खानेपानी र सिचाइ पोखरी परियोजनाका लागि तमुधिँ युकेको १० लाख रुपियाँ सहयोग गरेको थियो । स्थानीय तहले ढुंंगा, गिटी लगायत सहयोग गरेका थिए ।
सो आयोजना सम्पन्न गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पाएका वरिष्ठ पत्रकार डण्ड गुरुङले तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ लगायत तमुधिँ युकेके परिवारलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गोलन्जोर ४ सिउरेनीमा सिचाई पोखरी तथा भोक्टेघारी–काउले खानेपानी ट्याङ्की (पाइपसहित) निर्माण सम्पन्न गरी समुदायमा हस्तान्तरण गरियो । पालिका अध्यक्ष शंकरराज बराल, वडाध्यक्ष भक्तबहादुर भुजेल लगायत जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । तमुधि युकेको सहयोगमा सम्पन्न भएको यो मानवीय कार्यसम्पन्न गर्न सघाउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु । फिल्डमा खटिँदा चासोपूर्वक उत्साह थपिदिनुहुने तमुधियुकेका अध्यक्ष जुमकाजी गुरूङ, संस्थापक अध्यक्ष मिन गुरूङ, निवर्तमान अध्यक्ष हरि गुरूङ, गोरखामिडिया युकेका प्रवन्ध निर्देशक मिलन तमु लगायत तमुधि युकेमा आभारसहित संयोजनको यो जिम्मेवारीका लागि तमुधि युके सपरिवारमा विशेष धन्यवाद । यो कार्य सम्पन्न गर्न सक्रियतापूर्वक साथ दिने प्रिय भाइ हिरा राना, अोम थापा, समितिका अध्यक्षहरू डिलबहादुर राना र बेगबहादुर गौदासे साथै सम्पूर्ण उपभोक्ता सदस्यहरूमा धन्यवाद ।’