गुरुङ विशेष

एसइई उत्तीर्ण तमू विद्यार्थीलाई बधाई ज्ञापन

नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन

पोखरा । तमू समुदायको अग्रणी संस्था तमू धीँ नेपालले २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण तमू विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ। प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङको उपस्थितिमा विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको हो ।
सांसद गुरुङले विद्यार्थीहरुलाई नेपालमै उच्च र उत्कृष्ट शिक्षा आर्जनका लागि जोड दिनुपर्ने सुझाव दिए । ‘तमू विद्यार्थीहरु क्षमतावान बन्नु पर्छ, विदेश जाने नै भए पनि स्नातकोत्तर गरेर एक तहमा दक्षता हासिल गरेर मात्रै जाँदा राम्रो हुन्छ,’ उनले भने।

कार्यक्रममा तमू विद्यार्थीहरुलाई अभिमुखीकरण गर्दै विकास गुरुङले सक्षम, क्षमतावान, प्राविधिक जनशक्ति निर्माण पछिल्लो समयको माग भएको बताए। तसर्थ समयको मागअनुसारको शिक्षा आर्जन गर्नु आजको आवश्यकता भएको समेत उनले बताए। शिक्षा नै विकासको आधार भएकाले समाजले पनि शैक्षिक वातावरण सिर्जना गरिदिनुपर्नेमा उनले जोड दिए।

तमू धीँ नेपालका क्षेत्रीय तमू समाजहरुको तर्फबाट कोल्मा–बहाकोट तमू समाजका अध्यक्ष पूर्णबहादुर गुरुङ, ‘शिक्षा–शिक्षा–शिक्षा’का अभियानकर्ता एवम् तमू सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष युगबहादुर गुरुङलगायतले विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित शिक्षाको महत्त्वबारे प्रष्ट्याएका थिए।

सोही अवसर पारेर तमू धीँ नेपालको नवनिर्मित बहुउद्धेश्यीय सभाहलको समेत उद्घाटन गरिएको छ। कार्यक्रममा तमू धीँ नेपालका केन्द्रीय युवा समिति, तमू धीँ नेपाललगायत विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै कलाकारहरुहरुले सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको करिब ७८ लाख रुपैयाँ बजेटमा उक्त बहुउद्धेश्यीय सभाहल निर्माण भएको हो । सोही भवनको शनिबार उद्घाटन गरिएको हो। उक्त कार्यक्रम तमू धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।