रूपन्देही । तमू (गुरुङ)हरुको महान पर्व ‘ह्युल च्युपा त्हीँ’ नयाँ राज्य विस्तार पर्व विविध कार्यक्रमसहित बुटवलमा मनाइएको छ। प्राचीनकालमा गुरुङहरुको राज्य भएको र उक्त राज्य विस्तार गरिएको दिनलाई पर्वको रुपमा मनाउन थालिएको हो। तमू ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले आयोजना गरेको कार्यक्रममा ह्युल छोँज धीँका लुम्बिनी प्रदेश प्रमुख झपट गुरुङले गुरूङहरुले आफ्नै पर्व पनि चिन्न नसकेको बताए।
आफ्नो संस्कृति झल्कने पर्वहरुले गुरूङ जातिको पहिचान दिने भएकाले यसको संरक्षणमा सरोकारवाला व्यक्ति तथा संघसंस्थाहरुले ध्यान दिनुपर्ने बताए।
लिपिविद तथा संस्कृतिका जानकार बालनरसिंह गुरुङले हिमवत क्षेत्रमा तमूहरुको प्राचीन राज्य भएकोले यसको महत्त्व अपरिहार्य रहेको बताए।
मातृभाषाका अभियन्ता भीम गुरुङले संस्कार, संस्कृतिमा धनी रहेको गुरुङ जातिले आफ्नो भाषा र संस्कृति जगेर्ना गर्न आवश्यक रहेको बताए।
तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङको अध्य्क्षतामा भएको कार्यक्रममा परिषदका प्रदेश अध्यक्ष लालबहादुर गुरुङ, जिल्ला संरक्षक परिषद सभापति विमला गुरुङलगायतले बोलेका थिए।
खेगी पुरोहित मोमबहादुर तमूले पूजापाठ गरेको कार्यक्रममा तमू ह्युल छोँज धीँ रूपन्देहीका वरिष्ठ उपाध्य्क्ष आशा तमूले स्वागत मन्तव्य दिएकी थिइन्।