गुरुङ विशेष

पोखरामा कवि केयरसिंहको एकल कविता वाचन

कास्की । गुरूङ साहित्यिक मञ्च नेपालले कवि केयरसिंह गुरूङको एकल कविता वाचन गरेको छ। संस्थाले आयोजना गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत यसपटक कवि केयरसिंह गुरूङलाई एकल कविता वाचनको लागि मञ्चमा उभ्याइएको हो।

कवि गुरूङले १२ वटा कविता सुनाएका थिए। त्यसमध्ये चार वटा नेपालीमा र बाँकी आठ वटा कविता गुरूङ भाषामा सुनाएका थिए। ‘हामीले हरेक महिनाको शुक्रबार विशेष कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ,’ संस्थाकी उपाध्यक्ष रोश्नी गुरूङले भनिन्, ‘यसपटकको कार्यक्रम ज्यादै उत्साहजनक बन्यो।’ संस्थालाई चलायमान बनाइराख्नको लागि गुरूङ साहित्यिक मञ्चले नियमित गतिविधि गर्दै आएको उनले बताइन्।

कार्यक्रममा लेखक तीर्थ गुरूङले टिप्पणी गरेका थिए। कवि केयरसि‌ह गुरुङको कविताबाट लोप हुँदै गएको तमू भाषाका शब्दलाई संरक्षण गर्ने प्रयास गरिएको उनले बताए। साथै हाँस्यरसमा लेखिएको कविताबाट तमू समाजको चरित्र गरेको समेत उनले बताए।

गुरूङ जातिको कूलमा जन्मिएर साहित्य सिर्जनामा लाग्ने व्यक्तिहरुका लागि गुरूङ साहित्यिक मञ्चको स्थापना वि.सं.२०७३ साल चैत २१ गते पोखरामा भएको हो। त्यसयता विभिन्न खालका साहित्यिक गतिविधि गर्दै पुरानालाई प्रोत्साहन र नयाँ पुस्तालाई अवसर दिने प्रयास गर्दै आएको मञ्चका अध्यक्ष तेजबहादुर च्हाक्ली तमूले जानकारी दिए।