- तुलमान गुरुङ,
तनहुँ । स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर २०७५ सालमा देवघाट गाउँपालिकाले गोपीटारमा होमस्टे सञ्चालन गर्न सहयोग गर्यो। स्थानीय सरकारले नै चासो देखाएपछि गोपीटारवासीले पनि होमस्टे सञ्चालनका लागि तयारी थाल्यो। होमस्टेका लागि आवश्यक पर्ने आधारभूत आवश्यकता पूरा गर्नका लागि गाउँपालिकाले पनि सहयोग गरेपछि स्थानीय झन् हौसिए। र, २०७५ सालमा खुल्यो गोपीटार सामुदायिक होमस्टे।
तर, नारायणगढजस्तो ठूलो बजार नजिक हुँदा पनि होमस्टेले राम्रोसँग पाहुनाको स्वागत गर्न पाएको छैन। होमस्टे सञ्चालनमा आए पनि प्रचारप्रसार हुन नसक्दा अहिलेसम्म ओझेलमा परेको छ। गुरूङ समुदायको बसोबास रहेको यो गोपीटारमा २३ घरले पाहुना राख्न सक्ने गरी व्यवस्थापन गरेका छन्। होमस्टेमा आउने आगन्तुकहरुलाई सांस्कृतिक प्रस्तुति देखाउन र कार्यक्रम सञ्चालन गर्नका लागि गाउँको सिरानमा सांस्कृतिक घरसमेत निर्माण गरिएको छ।
अहिले पनि पाहुना आउँदा यहीँ कार्यक्रम हुने गर्छ। तर, गोपीटारमा पनि होमस्टे छ है भनेर चाहिनेजति प्रचारप्रसार हुन नसक्दा स्थापना भएको सात वर्ष बितिसक्दासमेत सोचेजस्तो गतिमा चल्न नसकेको होमस्टेका अध्यक्ष शमशेर गुरूङ बताउँछन्। ‘सुरू सुरूमा त राम्रै चलेको थियो, पछिल्लो समय अल्लि पाहुनाको आगमन कम भएको छ’, उनले भने, ‘हामीले मात्रै प्रयास गरेर पनि हुँदो रहेनछ। यसमा स्थानीय सरकार, सञ्चारकर्मीहरुको पनि उत्तिकै सहयोग चाहिने रहेछ।’
अहिले पनि गोपीटार आउने पाहुनालाई यहीँको स्थानीय खानपानले खुसी बनाउँदै आएका छन्। स्थानीय संस्कृतिबाट मनोरञ्जन प्रदान गर्दै आइरहेका छन्। ‘हामीले मौसमअनुसारको खानाका परिकारलाई प्राथमिकतामा राखेका छौँ। बजारबाट केही पनि ल्याउँदैनौँ’, अध्यक्ष गुरूङले भने, ‘बजार बस्नेहरुले गाउँमा आएपछि प्राङ्गारिक उत्पादन खोज्ने र होमस्टेको अवधारणाले पनि त्यही भन्ने हुँदा हामीले स्थानीय उत्पादनलाई नै प्राथमिकतामा राखेका छौँ।’
यतिखेर आउने पाहुनालाई रैथाने कुखुराको मासु, फर्सीको साग, गुन्द्रुकको अचार, उसिनेको मकै, सेलरोटीलगायतका खानाका परिकार खुवाउने गरेका छन्। ‘यतिखेर यहाँ जे उत्पादन भइरहेको छ त्यही खुवाउने हो’, होमस्टे सञ्चालक डिल्लीसरा गुरूङ भन्छिन्, ‘होमस्टे सञ्चालनका लागि पनि केही मापदण्ड छन्। त्यसभित्र पर्ने खानाका परिकार हामी खुवाउँछौँ।’
होमस्टेमा आएका सबै पाहुनालाई हरेक कोणबाट मन खुसी बनाएर पठाउने प्रयास हुँदै आएको उनले बताइन्। ‘सबै पाहुना एकै खालका आउँदैनन्, कोही कोही अल्लि फरक खालका पनि आउँछन्। तर, हामीले यहाँको वातावरण र अवस्थाबारे जानकारी गराएपछि सम्झन्छन्’, उनी भन्छिन् । होमस्टेलाई राम्रोसँग सञ्चालन गर्न सकेको अवस्थामा स्थानीय उत्पादनले पनि गाउँमै स्थान पाउने हुँदा यसलाई प्रचारप्रसार गर्न सक्दा गाउँलेलाई राम्रो हुने उनको बुझाइ छ।
गाउँपालिकाले पनि स्थानीय उत्पादनमा केन्द्रित भएर होमस्टे सञ्चालन गर्न अनुरोध गर्दै आएको छ। कम्तीमा देवघाट घुम्न आउने जोकोहीलाई गोपीटारसम्म उकाल्न सके बजारबाट नजिकैको दूरीमा रहेको होमस्टे सुकेर बस्न नपर्ने गाउँपालिकाले जनाएको छ। ‘होमस्टे सञ्चालनका लागि स्थानीय सरकारले के गर्नुपर्छ, आउनुहोस्, छलफल गरौँ’, गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले भने, ‘यो ठाउँको सबैभन्दा ठूलो समस्या बाटोको थियो। ठिमुरामा पक्की पुल बनेपछि थप सहज भएको छ।’
बाँकी सडक विकासको काम क्रमबद्धरुपमा हुँदै आएको उनले बताए। गैँडाकोटतर्फको हर्दी र भरतपुरतर्फको दासढुङ्गाको पुलले पनि बाटोका लागि सहज भएको उनको भनाइ छ। होमस्टेमा आउने पाहुनालाई अक्षतामा दही (सेतो टीका) र मालाले स्वागत गर्ने शैलीले नै आगन्तुकको मन लोभ्याउँछ। होमस्टे आउने पाहुनालाई सांस्कृतिक घरमा स्वागतसत्कार गर्ने र मनोरञ्जन दिलाएपछि घर–घरमा लगेर खुवाउने र बास बसाउने यहाँको चलन छ।