गुरुङ विशेष

वेलायतमा सिरुबारीको वार्षिक भेला सम्पन्न

लण्डन, १५ असार । सिरुबारी, पहिलो पर्यटकीय गाउँका गाउँलेहरूको वार्षिक भेला लण्डनको दक्षिण–पूर्व क्षेत्रमा पर्ने प्लमस्टेड कमन (Plumstead Common) मा सम्पन्न भएको छ।

कार्यक्रम सिरुबारीका क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन गरिएको थियो। व्यस्त लण्डन शहरको विभिन्न भागबाट सिरुबारीबासीहरू उक्त स्थानमा भेला भएका थिए।

भेटघाट कार्यक्रममा सिरुबारी गाउँका जगदीश गुरुङ (सोँपाल समाज युकेको अध्यक्ष), डेबिड गुरुङ (गैरआवासीय नेपाली संघ [गाउनेसं] वेलायतका प्रमुख संरक्षक) र विजय बहादुर गुरुङ (गाउनेसं वेलायतका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य) भएको उपलक्ष्यमा खुसी साटासाट गर्दै गाउँको तर्फबाट फेटा र खादा लगाई सम्मान गरिएको थियो।

एकअर्कासँग भलाकुसारी गर्दै घरगाउँको संस्कार, परम्परा र रीतिथिति जगेर्ना गर्न तथा परदेशमा बस्दा भावी पुस्तालाई ती मूल्यहरू हस्तान्तरण गर्ने विषयमा गम्भीर छलफल गरिएको थियो। साथै, आफ्नो पुर्ख्यौली गाउँ तथा क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत विस्तृत रूपमा विचारविमर्श गरिएको थियो।

यद्यपि व्यस्त लण्डनमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसकै दिन भएको यो भेलामा संख्यात्मक रूपमा सहभागीहरू थोरै भए पनि सबैले दिलोज्यानले सहभागिता जनाएका थिए।

भेलाको निर्णय अनुसार डेबिड गुरुङलाई सिरुबारी प्रथम पर्यटकीय गाउँ युकेको अध्यक्ष, नवराज गुरुङलाई उपाध्यक्ष र धनबहादुर गुरुङलाई सचिवको रूपमा चयन गरिएको घोषणा गरिएको थियो।