कभर स्टोरी

अक्सिजनको भरमा तीर्थलालको प्राण

आर्थिक अभावले तिर्न सकेनन् ३५ हजार रूपैयाँ

  • तुलमान गुरुङ

चितवन । अक्सिजनको भरमा बाँचिरहेका छन्, तनहुँ जिल्ला देवघाटका तीर्थलाल गुरूङ । उमेरले ४३ मा टेक्दै गरेका तीर्थलाललाई त्यही अक्सिजन जुटाउन पनि आर्थिक सङ्कट आइपरेको छ । कोटाका सन्तबहादुर गुरूङको निधन भएपछि उनले प्रयोग गर्दै आएको विद्युतीय मेसिन अहिले तीर्थलाललाई काम लागेको छ । तर, पुरानै मेसिनको पनि पैसा तिर्न नसक्दा उनको परिवारमा २०८२ को वैशाख महिनादेखि ३५ हजार रुपैयाँ ऋणको भार थपिएको छ ।

देवघाट गाउँपालिकाको वडा नं.१ कोटाभन्दा थोरै माथि पर्छ गोपीटार । त्यही गाउँमा खेतीकिसानी गर्दै आइरहेका तीर्थलालको परिवारमा तीर्थलाल नै बिरामी भएपछि यो परिवारको दैनिकी नै असहज बन्दै गइरहेको छ ।

गत वर्ष माघ महिनादेखि तीर्थलाल बिरामी भएपछि श्रीमती विष्णुमायालाई राम्रोसँग निद्रा परेको छैन । दमको समस्याका कारण भरतपुर पुगेर उपचार गरे पनि चौबीसै घण्टा अक्सिजन चाहिने भएपछि श्रीमानको प्राण बचाउन उधारोमै भए पनि मेसिन त जोडिन् । तर, पैसा तिर्ने पो कसरी भन्ने चिन्ता विष्णुमायालाई छ । ‘३५ हजार मूल्य गरेर अक्सिजन मेसिन ल्याएको पनि साढे दुई महिना बितिसक्यो । अहिलेसम्म पैसा तिर्न सकेको छैन,’ उनी भन्छिन्, ‘पैसाभन्दा पहिले श्रीमानको जीवन बचाउनुपर्छ भनेर जोखिम मोले पनि त्यसको मूल्य तिर्न नपाउँदा मन पोलिरहेको छ ।’

तीर्थलाल बिरामी भएपछि अक्सिजनको सानो सिलिण्डरको जोहो गरे पनि उक्त सिलिण्डर पर्याप्त नभएपछि विकल्पको खोजी गर्दै जाँदा विद्युतबाटै चल्ने पुरानो मेसिन फेला परेको हो । तर, बिजुली जाँदा उक्त मेसिन पनि नचल्ने हुँदा ग्याँस भर्ने सिलिण्डर पनि आवश्यक छ ।

तर, सामान्य खेतीपातीमै रमाइरहेको यो परिवारसँग आर्थिक अभाव हुँदा चाहिने जति अक्सिजनको जोहो गर्न सकेका छैन । बिजुली नहुँदा भएको अक्सिजनको सिलिण्डर पनि सकियो भने भर्नको लागि भरतपुरको चौबीसकोठी पुग्नुपर्छ । तर, पुग्ने पो कसरी ? बाटोको असहजता त्यस्तै छ । ‘गाउँबाट भन्नासाथ कुनै सवारीसाधन पनि पाइँदैन । कसैको साधन पाइहाल्यो भने पनि जाँदा आउँदा कम्तिमा पनि दुई घण्टा लाग्छ,’ तीर्थलालको आफन्तीसमेत रहेका छिमेकी यमबहादुर गुरूङ भन्छन्, ‘भरतपुर पुगेपछि अक्सिजन भर्न लाग्ने खर्चभन्दा यातायात खर्च दोब्बर, तेब्बर लाग्छ ।’

सरकारले यस्ता व्यक्तिहरुका लागि निःशुल्क अक्सिजनको व्यवस्था मिलाउनु पर्ने उनको माग छ । ‘वर्खा लागेसँगै बाटो असहज भएको हुँदा झन् बढी सकस हुने देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा लामो समयसम्म बिजुली बत्ती जाने र घरको ग्याँस पनि सकियो भने कसरी जीवन धान्ने ?’

अहिले पनि दैनिक एक हजार रुपैयाँको हाराहारीमा नियमित खर्च हुँदै आएको छ । त्यही पनि नहुँदा छिमेकीको शरणमा पुग्नुपर्ने बाध्यता श्रीमती विष्णुमायालाई छ । आयस्रोत नभएको व्यक्तिलाई हरेक दिन एक हजार रुपैयाँका दरले खर्च गर्नुपर्दा परिवारको दैनिकि झनै असहज बन्दै गएको उनले बताए । स्थानीय सरकारले कम्तिमा निःशुल्क ग्याँस भर्ने सुविधा दिन सके त्यसबाट विपन्न नागरिकको जीवन आर्थिकरूपमा थप खस्किनबाट जोगाउन सकिने गाउँलेको भनाइ छ ।

स्थानीय नरबहादुर विश्वकर्माले भने गाउँले र आफन्तले गर्नुपर्ने सहयोग गरे पनि त्यसले पर्याप्त नभएको हुँदा आमरुपमै सहयोगको अपिल गरिएको बताए । ‘गाउँलेले सक्नेजति सहयोग गरेकै हो । तर, अब गाउँलेले गरेको सहयोगले मात्रै पुगेन,’ उनले भने, ‘त्यसकारण खुल्ला हृदय भएका जोकसैले तीर्थलाल गुरूङलाई सहयोग गर्न सक्नु हुनेछ ।’