गुरुङ विशेष

गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाहा) को नवौँ वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न

हङकङ :  गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाहा) को नवौँ वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम हङकङको लियोन रक पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वास गुरुङले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गुरुङ फिल्म एसोसिएसन हङकङ/नेपालका सल्लाहकार तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ रहनुभएको थियो। साथै, कार्यक्रममा विशिष्ट अतिथि तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।संस्थाका द्वितीय उपाध्यक्षले स्वागत मन्तव्य राखेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने अध्यक्ष माया गुरुङ र प्रमुख अतिथि दुर्गा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘रिपा लागे स्याई स्याई’ सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएको थियो।त्यस अवसरमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्तित्वहरू—कृष्ण गुरुङ, अनिल गुरुङ र जगत बहादुर गुरुङ (अम्बु)—लाई विशेष सम्मान प्रदान गरिएको थियो।

प्रमुख अतिथि दुर्गा गुरुङ ‘मिलन’ले आफ्नो मन्तव्यमा भने: “गुरुङ समुदायको कला, संस्कृति र पहिचान जोगाउन र प्रवासमा समेत जगेर्ना गर्न जिफाहाजस्ता संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय छ। युवापुस्तालाई यस अभियानमा जोड्न अझ व्यापक कार्यक्रम आवश्यक छन्। यस संस्थाले भविष्यमा पनि अझ सशक्त र सृजनशील काम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रमको समापनमा सभाध्यक्ष माया गुरुङले सबै अतिथि, सहभागी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो। त्यसपछिको अनौपचारिक सत्र संस्थाकी सचिव नियोना गुरुङले सञ्चालन गरेकी थिइन्।