काठमाडौँ : लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रिय क्याम्पसले वार्षिक कार्यक्रम अन्तर्गत अनुसन्धानमूलक वार्षिक जर्नल लुम्बिनी प्रभाको दशौँ अंक प्रकाशन गरेको छ । २५६९ औँ बुद्ध जयन्तीको अवसरमा सो जर्नलको विमोचन साथै प्रज्ञा स्तूपमा बुद्ध पूजा सम्पन्न भएको हो। क्याम्पसमा अध्ययनरत भोट बौद्ध अध्ययनका विद्यार्थी लमाज्यू तथा आनीरुको विशेष सहभागितामा सोमबार विशेष बुद्ध पूजा सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रिय क्याम्पसका प्रमुख डा. निर बहादुर गुरुङले जानकारी दिनुभयो ।
लुम्बिनी प्रभाको दशौँ अंकको प्रकाशनसंगै यसले एक दशकको इतिहास पूरा गरेको छ । सन् २०१६ देखि प्रकाशन गर्न शुरु गरेको यो जर्नल विश्वविद्यालयको पहिलो अनुसन्धानमूलक जर्नलको रुपमा हो । हालसम्म यस जर्नलमा नेपाल लगायत भारत, चीन, श्रीलंका, म्यानमार, जर्मनीका विद्वान, अनुसन्धानकर्ताहरुको लेख प्रकाशन गरिसकेको छ । यस अंकमा नेपाल, भारत र म्यानमारका लेखकहरुको लेख समेटिएको छ ।
लुम्बिनी प्रभा भौतिक तथा अनलाइन Arial मा दर्ता भइसकेको छ । नवौँ अंकदेखि Library Congress Control Number -LCCN_ मा दर्ता समेत भएको छ । यसको सम्पूर्ण अंकलाई विश्वविद्यालयको वेभसाइटमा राखिने प्रयास भएको छ । बौद्ध अध्ययनसंग सम्बन्धित नेपाली मात्र नभई विदेशी अनुसन्धानकर्ता, विद्वान्, लेखकहरुको लागि पनि यो जर्नल सुपरिचित भैसकेको छ ।
यस पत्रिकाले आफ्नो नियमित समय तालिका तथा निरन्तरतालाई कायम राख्दै क्रमशः गुणस्तर बृद्धि गर्दै आएको छ । यस अंकदेखि Blind Peer Review गरिएको छ । साथै यसै अंकदेखि Nepal Online Journals Online -NepJOL_, DOI मा समेत दर्ता हुने भएको छ । यस अंकका लागि प्राप्त लेखहरुमध्ये ५० प्रतिशतभन्दा कम मात्र लेखहरु सम्पूर्ण छनौट प्रक्रिया पूरा गरी प्रकाशनयोग्य भएको छ । यसमा समावेश अधिकांश लेखहरु प्रायोगिक बौद्ध विषयसंग सम्बन्धित छन् ।
छनौट प्रक्रिया अन्तर्गत Desk Review, AI Detection, Plagiarism Checking, Blind review गरिएको छ । नेपाल र भारतका दिग्गज बौद्ध विद्वानहरुले यस अंकका लेखहरुको समीक्षा गरेका छन् । यसबाट लुम्बिनी प्रभा जर्नलले लुम्बिनी बौद्ध विश्वविद्यालयको अनुसन्धान, प्रकाशनको क्षेत्रमा एउटा महत्वपूर्ण तथा अग्र स्थान कायम राख्दै स्वदेश तथा विदेशमा पनि विशेष स्थान राख्न सफल भएको पाइन्छ ।
केन्द्रिय क्याम्पसले लुम्बिनी प्रभाका साथै ज्ञानोद्यान नामक अर्को वार्षिक पत्रिका पनि ल्होसारको अवसरमा हिमाली बौद्ध दर्शन, परम्परा, सिद्धान्त, सस्कृति, सम्पदा जस्ता विषमा केन्द्रित रही प्रकाशन गर्दै आएको छ । गत ल्होसारमा यस पत्रिकाको तेस्रो अंक प्रकाशित भइसकेको छ । यो पत्रिका क्याम्पसमा सञ्चालित भोट बौद्ध अध्ययनका विद्यार्थीहरुको पहलमा प्रकाशन हुँदै आएको छ ।
आगामी दिनमा केन्द्रिय क्याम्पसले अनुसन्धान तथा प्रकाशनका क्षेत्रमा यस पत्रिकाहरुले अझै उच्च स्थान लिने तथा गुणस्तर बृद्धि गर्दै लैजान सफल हुने विश्वासका लिएको छ ।