चितवन । तमूस्यो ह्युल छोज धीँ गुरूङ राष्ट्रिय परिषद्, भरतपुर महानगर समितिले सदस्यहरुका लागि सुगन्धित बटुवा धुप बनाउने तालिम आयोजना गरेको छ। नजिकिँदै गरेको बुद्ध जयन्ती लक्षित कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
महाबौद्ध गुम्बास्थित तमू ह्युल छोंज धींको कार्यालयमा तालिम सञ्चालन गरिएको हो। चारदिनसम्म सञ्चालन गर्ने योजनासहित सुरु गरेको तालिम एक हप्तासम्म चल्ने तमूस्यो ह्युल छोंज धीं भरतपुर महानगर समितिकी अध्यक्ष मञ्जु गुरूङले जानकारी दिइन्। १५ जना प्रशिक्षार्थी सहभागी उक्त तालिमबाट फुर्सदमा रहेका महिलाहरुलाई स्वरोजगार बन्न टेवा पुग्ने विश्वास लिइएको उनले जानकारी दिइन्।
‘फुर्सदको समयलाई सदुपयोग गर्दै कम्तीमा आफ्नो घरको आवश्यकता आफैँबाट पूरा गराउन सकिन्छ कि भन्ने योजना छ,’ उनले भनिन्, ‘व्यावसायिकरुपमा काम गर्न र स्वाबलम्बी बन्दै अर्थोपार्जनमा पनि टेवा पुग्छ।’ पेसाकै रुपमा काम गर्न चाहनेहरुका लागि झन् फाइदाजनक हुने उनको भनाइ छ। आफैँआफैँ मिलेर साथीहरुबीच बनाउन थालिएको उनले बताइन्।
‘कार्यसमितिभित्रैका जानेका व्यक्तिबाट नजानेकालाई सिकाउँदै हाललाई कार्यसमितिभित्र मात्रै तालिम दिइएका हौँ,’ उनले भनिन्, ‘हाललाई परीक्षणको रुपमा तालिम आयोजना गरे पनि पछि अन्य सदस्यहरुका लागि पनि तालिम आयोजना गर्ने सोच छ।’
नजिकै बुद्धजयन्ती आइपुगेको हुँदा गुम्बामा आवश्यक पर्ने धुप गुम्बाभित्रै उत्पादन गर्ने योजनाअनुसार अहिले तालिम सञ्चालन गरिएको उनले बताइन्। तालिमबाट उत्पादन भएको धुपको मूल्य हाललाई प्रतिप्याकेट एक सय रूपैयाँ तोकिएको छ। तमूस्योले उत्पादन गरेको धुपलाई प्रयोग गरिदिन पनि समितिले आग्रह गरेको छ।