गुरुङ विशेष

फोनिज चितवनको अध्यक्षमा गुरूङ सर्वसम्मत

चितवन । तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न दसौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट गुरूङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

आगामी तीनवर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक रानामगर, सहसचिवमा प्रतिमा कुमाल र कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरुमा भने बबिलाल तामाङ, सूचना गुरूङ, मुना लम्तरी मगर, देउकुमार थापामगर, विनिता श्रेष्ठ, सविता महतो, सन्तोष तामाङ र शिवकुमारी चेपाङ चयन भएको निर्वाचन समितिका संयोजक सन्दीपकुमार श्रेष्ठले जानकारी दिए।

तीन पत्रकारलाई सम्मान

फोनिज चितवनले अधिवेशनपूर्व तीन पत्रकारलाई सम्मान गरेको छ। तमू सञ्चारकर्मी संघ नेपालका सङ्घीय सदस्य दानबहादुर गुरुङसहित फोनिज चितवनका पूर्वअध्यक्ष एवं स्वास्थ्य दर्पणका सञ्चालक सन्दीपकुमार श्रेष्ठलाई र पत्रकार वसन्त शर्मा ढुङ्गानालाई एकसाथ सम्मान गरिएको हो। सम्मानित गुरुङ इच्छाकामना एफएम कुरिनटारका स्टेसन म्यानेजर हुन्।

श्रेष्ठलाई संस्था सञ्चालनमा कुशल एवम् नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो। पत्रकार ढुङ्गानालाई भने चितवनलाई कार्यक्षेत्र बनाई आदिवासी जनजाति समुदायको मुद्दा उठानमा पत्रकारितामार्फत योगदान दिएबापत सम्मान गरिएको आयोजकले जनाएको छ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए। सम्मान प्रदानपछि मन्त्री सिलवालले चितवनको आदिवासी जनजाति समुदायको एकताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। आफू पनि आदिवासी जनजाति समुदायको भूगोलमा हुर्किएको भन्दै उनले आदिवासी जनजाति समुदायको रहनसहन र चालचलनबारे पूर्ण जानकार रहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारूमगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, फोनिजका सङ्घीय सदस्य एवं चितवन जिल्लाका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, सङ्घीय सदस्य चित्र ‘सोल्टी’ गुरूङ, फोनिज बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बासहित चितवन जिल्लामा रहेका आदिवासी जनजाति समुदायका जातीय संस्थाका प्रमुखहरुको समेत उपस्थिति थियो।