युके । तमू समाज युकेले गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङलाई सम्मान गरेको छ। समाजले जनवरी २५ का दिन आफ्नै भवनमा स्वागत गरी सम्मान गरेको हो। समाजकी अध्यक्ष विन्दु घले र आमा समूहकी अध्यक्ष विमला गुरूङले दोसल्ला ओढाउनुका साथै मायाको चिनो दिएर सम्मान गरेको हो।
उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरूङले तमू भाषा, संस्कार र संस्कृति जोगाउनु हरेक तमूहरुको कर्तव्य भएको बताए। तमू समाज युके सोही बाटोमा हिँडेको समेत उनले बताए।
सम्मानित गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङले गण्डकी प्रदेशमा पनि गुरूङ भाषालाई कामकाजी भाषामा लागू गर्ने चरणमा पुगेको बताइन्। गुरूङ समुदायका कोही पनि व्यक्ति देशमा या विदेशमा जता भए पनि आफ्नो जातिको भाषा, धर्म, संस्कार, संस्कृति र पहिछान छाड्न नहुने उनले बताइन्।
समाजकी अध्यक्ष विन्दु घलेले गुरूङ समुदायको हकहित र पहिचान संरक्षण तथा पुस्तान्तरणमा समाजले विभिन्न कोणबाट प्रयास गर्दै आएको बताइन्।
सोही कार्यक्रममा सहभागी हुन युके आइपुगेका तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरूङले नेपालमा तमू सञ्चारकर्मीको अवस्थाबारे जानकारी गराएका थिए। उनले रेडियो नेपाल, नेपाल टेलिभिजनलगायतका सञ्चारमाध्यममा गुरूङ भाषाको समाचार प्रसारण हुने जानकारी गराएका थिए। साथै गोरखापत्रमा पनि गुरूङ भाषामा समाचार प्रकाशन हुने गरेको जानकारी गराए।