गुरुङ विशेष

तमू ह्युल चितवनद्वारा ल्होसारको आय–व्यय सार्वजनिक

साढे पाँच लाख खर्च, एक लाख १४ हजार रुपैयाँ बचत

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनद्वारा आयोजित ‘तमू ल्होसार पर्व–२०८१’ मा साढे पाँच लाख रूपैयाँ खर्च भएको छ । सोमबार परिषदअन्तर्गत तमू ल्होसार पर्व मूल आयोजक समितिले आयोजना गरेको समीक्षात्मक बैठक तथा आयव्यय सार्वजनिक कार्यक्रममार्फत संस्थाकी कोषाध्यक्ष ज्ञानदेवी गुरूङद्वारा प्रस्तुत प्रतिवेदनमा अनुमानित खर्चभन्दा कम खर्चमा पर्व सम्पन्न भएको देखिएको हो।

तीन दिनसम्म सञ्चालन भएको ल्होसार पर्वको लागि यसवर्ष करिब साढे ६ लाख रूपैयाँ खर्च हुने अनुमान गरेको थियो। हरेक वर्ष अर्थ सङ्कलन गरेरै पर्व मनाउँदै आएको तमू ह्युल छोंज धींले यस वर्ष छ लाख ६४ हजार ९९० रूपैयाँ अर्थ सङ्कलन गरेको थियो। सबै खर्च कटाएर एक लाख १४ हजार ४५७ रूपैयाँ बचत गर्न सफल भएको उनले बताइन्।

ल्होसार पर्व मनाउनको लागि यसवर्ष पनि सबैभन्दा बढी खर्च मञ्च व्यवस्थापनमा देखिएको छ, जसमा एक लाख २५ हजार रूपैयाँ खर्च भएको छ। त्यसपछि खाना व्यवस्थापनमा ९२ हजार ९६० रूपैयाँ खर्च भएको आयोजकले जनाएको छ। ल्होसार तमू जातिको मौलिक सांस्कृतिक पर्व भएको हुँदा यसलाई थप व्यवस्थित बनाएर यसवर्षको ल्होसार सफल पारेको तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर घोताने गुरूङले बताए । आगामी वर्ष अझ थप व्यवस्थितका साथ ल्होसार मनाउने उनले बताए।

विभिन्न २९ वटा शीर्षकमा भएको खर्चको समग्र हिसाब हेर्दा अनुमानित बजेटभन्दा कममा कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाकी अध्यक्ष एवम् तमू ल्होसार पर्व–२०८१ मूल समारोह समितिकी संयोजक विमलादेवी गुरूङले जानकारी दिइन्। उनले ल्होसार सफल पार्नको लागि भूमिका निर्वाह गर्ने उपसमितिका संयोजक तथा सदस्यहरुका साथै कार्यक्रममा साथ दिने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरिन्।

तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरूङका अनुसार सहभागीसमेत विगतका वर्षभन्दा यस वर्ष बढेको देखिएको छ। ‘हामीले सात हजारवटा गेटपास ल्याउँदा दिउँसो २ बजे नै सकियो,’ उनले भने, ‘साँझसम्ममा करिब १० हजारको हाराहारीमा सहभागी सङ्ख्या पुगेको हाम्रो अनुमान छ।’ पुस १५ गतेमात्र नभई १४ गते रात्रिको भीड पनि उस्तै रहेको हुँदा कार्यक्रमप्रतिको आकर्षण हरेक वर्ष बढ्दै गएको उनले दावी गरे।