क्यानाडा । क्यानाडामा भएका गुरुङहरुले यस वर्षको तमू ल्होसार धुमधामका साथ मनाएका छन्। तमू धीं क्यानाडाको आयोजनामा जनवरी ४ तारिखका दिन विभिन्न कार्यक्रम आयोजना ल्होसार मनाइएको हो। कार्यक्रममा सर्प वर्ग भएका व्यक्तिहरु (सप्री ल्हो) लाई रोग विशेष र अनिष्टबाट बच्नका लागि स्याइस्याइ गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। घाँटु, कौडा, सालैजो, झ्याउरेलगायतका मौलिक नाचमार्फत मनोरञ्जन प्रदान गरिएको थियो। साथै तमू धीं क्यानाडाका सदस्यहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै साना नानीबाबुहरुको मौलिक भेषभूषासहितको प्रस्तुतिले धेरै दर्शकको मन जितेका थियो।
तमू धीं क्यानाडाका अध्यक्ष सोम गुरुङले तमू समाजको पहिचानका रुपमा रहेका संस्कार र संस्कृति बचाउनु संस्थाको मुख्य उद्देश्य भएकाले सांस्कृतिक कार्यक्रममा संस्कार र संस्कृति झल्किने प्रस्तुति राखिएका बताए। कार्यक्रममा समाजमा विशेष योगदान दिएवापात समाजका सल्लाहकार वीरकाजी गुरुङलाई लेगेसी अवार्डबाट सम्मान गरिएको थियो। सिनेटर भिक्टोर ओले सो अवार्ड प्रदान गरेका थिए।
कार्यक्रमका प्रायोजकहरुलाई समाजका सल्लाहकारहरु डा हरिभक्त गुरुङ, नवराज गुरुङ, राजकुमार गुरुङ र वीरकाजी गुरुङले धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए। दुई सत्रमा सञ्चालन भएको कार्यक्रमको पहिलो सत्र पुजन गुरुङले सञ्चालन गरेका थिए भने दोस्रो सत्र मिलन गुरुङ, कञ्चन गुरुङ र लोक गुरुङले सञ्चालन गरेका थिए।