प्रवास

जापानमा तमू धींको ल्होसार/ल्होछार

टोकियो । तमू धीं जापानले विभिन्न सांस्कृतिक कार्यक्रमसहित मुप्री ल्होको बिदाइ तथा सप्री ल्होको स्वागत गर्दै तमू ल्होसार/ल्होछार मनाएको छ। टोकियोस्थित इकेगामी हलमा भव्य कार्यक्रम आयोजना गरी ३०औँ तमू ल्होसार/ल्होछार मनाएको हो।

जापानमा रहेका तमू समुदायको ठूलो उपस्थिति रहेको कार्यक्रमको सुरुवाती चरणमा लम गुरू सन्दीप तमूको हातबाट रिपा लगाउने, ग्रहदशा काट्ने काम भएको थियो। स्थानीय कलाकारहरुद्वारा तमू (गुरूङ)को मौलिक सांस्कृतिक पहिरनमा सजिएर बाजागाजासहितको छ्याँडु तथा घाँटु नाचलगायत आधा दर्जनजति आकर्षित नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो।

कलाकारहरु उषा गुरूङ, अमर गुरूङ, रूपेश गुरूङलगायतले जोडदार प्रस्तुति दिएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

तमू धीं जापानका टेकन गुरूङले सञ्चालन गरेको कार्यक्रममा नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले तमू धीं जापानमा सक्षम महिलाको नेतृत्वले उदाहरणीय काम गरेको बताए। ‘जापानमा नेपाली महिलाहरुले चाहेमा जुनसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको छ,’ उनले भने।

तमू धीं जापान तीन दशक लामो इतिहास बोकेको जेठो र पुरानो संस्था हो। त्यतिमात्र नभई यस संस्थाले समुदायप्रति खेलेको सकारात्मक भूमिका चर्चा गर्न योग्य भएको उनले बताए। ‘चाहे भूकम्पको विपत्ति होस्, चाहे बाढीपहिरोको समस्या होस्, प्राकृतिक विपत्ति या विपन्न वर्ग र समुदायको हितमा समेत योगदान पुर्‍याउँदै आएको छ’, उनले थपे।

तमू धीं जापानले ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु’ भन्ने मूल अभियानलाई आत्मसात गर्दैं तमू जातिको भाषा, धर्म, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रयास गरिएको तमू धीं जापानका अध्यक्ष हिमाली गुरूङले बताइन्।

कार्यक्रमको लागि जापानवासी तमूहरुले दिलाएको साथ र सहयोगले काम गर्ने थप उर्जा मिलेको उनले बताइन्। ‘मलाई जसले जुन ठाउँबाट सहयोग गर्नुभएको छ, उहाँहरु सबैजनाप्रति निकै नै आभारी छु,’ उनले भनिन्, ‘किनकि यहाँहरुको साथ र सहयोगबिना कुनै पनि गतिविधि गर्न सम्भव हुँदैन। त्यसकारण आगामी दनिमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेकी छु।

संस्थाकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सोममाया गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाली राजदुत डा सुवेदीसँगै एनआरएनएका अध्यक्ष नविन निउरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, एनबिए जापानका अध्यक्ष विजय थकाली, रोशन केशी, एनआरएनए आइसीसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए आइसीसीका निबर्तमान उप-महासचिव एवम् तमू धीं जापानका संरक्षक ओम गुरूङ, मोना अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्कालगायतको पनि उपस्थिति थियो।